बिहिबार, जेठ १४, २०८३

तामाङ चलचित्र संघको अध्यक्षमा पुनः कुमार मोक्तान सर्वसम्मत

काठमाडौं । तामाङ चलचित्रकर्मीहरुको पेसागत हकहित तथा व्यवसायिक विकासका साथै तामाङ भाषा,संस्कृति कलाको संरक्षण प्रवद्र्धनमा क्रियाशिल तामाङ चलचित्र संघको अध्यक्षमा पुनः कुमार मोक्तान निर्वाचित भएका छन् । जोरपाटीस्थित याङ्रिमा हिलसिटीमा आयाेजित संघको शनिबार सम्पन्न १४ औं साधारण सभा तथा ७ औं महाधिवेशनले सर्वसम्मत रुपमा मोक्तानलाई नेतृत्वमा चयन गरेको हो ।

महाधिवेशनकाे बन्दसत्रबाट वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ,उपाध्यक्षमा अमर लामा र विनायक तामाङ तथा महिला उपाध्यक्षमा सुनिता लुङबा चयन भएकी छिन्  । यस्तै , महासचिवमा ऋतुराज पाख्रिन,सचिवमा उतर लामा (संगुल),कोषाध्यक्षमा पुनः जोगलाल लामा,सह कोषाध्यक्षमा सुनिता दोङ पनि सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा मायादेवी मोक्तान,सुस्मा मोक्तान,बुद्ध तामाङ,दिपक तामाङ स्याङतान,कुइसाङ रुम्बा,संजय हुत्त,रुपा एस घले,बीरमान स्याङतन,प्रवल थिङ,कुमारी माया ग्लान,ज्ञानदास तामाङ,संगीता तितुङ,सञ्चु थोकर,रेसम कुमार स्याउली,सृजना तामाङ रहेका छन् । कार्यसमितिमा अन्य ६ जना भने मनोनित गर्ने जनाइएको छ ।

यसैगरी, अधिवेशनबाट निवर्तमान कार्यसमिति उपाध्यक्ष भुइसाल लामा,निर्देशक विनय दोङ र वरिष्ठ नायिका चाँदनी मोक्तानलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै बागमती प्रदेशकी पूर्वसभामुख एवं  प्रदेशसभा सदस्य राधिका तामाङले तामाङ भाषा,संस्कृतिको प्रवद्र्धनका साथै पहिचानको पुर्नस्थापना र एकताका लागि चलचित्रकर्मीहरुको भुमिका महत्वपूर्ण हुने बताईन् । बागमती प्रदेश सभा तथा सरकारले तामाङ,नेवा भाषा र लिपीलाई सरकारी कामकाजी भाषा र लिपीको रुपमा पास गरेर अघि बढाएको भन्दै यसको सफल कार्यन्वयनका लागि कलाकार,पत्रकारले पनि उत्तिकै खवरदारी र जागरणको काम गर्नेमा उनी विश्वस्त छिन् ।

तामाङ चलचित्रकर्मीहरुको एकतामा जोड दिने बताउँदै पुनः अध्यक्षको जिम्मेवारी पाएका मोक्तानले सबै कलाकारहरुको एकताबाट नै कलाकार र कला क्षेत्रको विकास हुने बताए  ।
तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा दिइदै आएको स्व. जयनन्द लामाको सम्मानमा स्थापित सेमरी छोरङान अवार्ड,टिएफआर सम्मानलाई थप व्यवस्थीत र विस्तारित रुपमा लैजाने उनको भनाई छ । तामाङ  कलाकारहरु पनि अन्तराष्ट्रिय फोरमहरुमा पुग्ने अवस्थाको सृजना गर्ने अध्यक्ष माेक्तानकाे प्रतिवद्धता छ ।

कार्यक्रममा तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान वल तामाङ,तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन वल,तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जन,म्हेन्दोमाया कलाकार संघका अध्यक्ष आरम्भ तामाङ,तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान,वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा लगायत, विभिन्न संघ संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियो ।