शुक्रबार, फागुन ११, २०८०

सडकमा आश्रित मानवहरुको व्यवस्थापनका लागि संसदमा विधेयक पेस हुन्छ : प्रधानमन्त्री

मायालु लामा, काठमाडौं । आतिथ्यता तथा भेटमा जय मानवसेवा, यो उच्चारण नै गजब लाग्छ मानव सेवा आश्रमका स्वयंसेवीहरूको । राम्रो व्यवस्थापन, संस्थामै रहेर स्वयंसेवा गरिरहेका दिदीबहिनीहरूको सक्रियता, आतिथ्यता साँच्चै सम्झनलायक छन् । उपस्थित सबैलाई चन्दनको टीका लगाइ फुलका गुच्चाहरुले स्वागत गर्ने दिदीबहिनीको हँसिलो, मायालु अनुहार सम्झि रहन मन लाग्छ । चन्दनको टीकाको सुगन्धले दिनभर साँच्चै मनमा छुट्टै ऊर्जा मिलेजस्तो लागिरह्यो ।

हेटौँडाबाट २०६९ भाद्र १३ गते रामजी अधिकारीको परिकल्पना एवं पहलमा सुरु भएको आश्रमले हाल सातै प्रदेशका १९ जिल्लामा रहेका २४ सेवा केन्द्रहरुबाट सेवा संचालन गरिरहेको र हाल एक हजार ६ सय ५४ जना सहयोगापेक्षी सडक आश्रित मानिसहरुलाई संरक्षण दिईरहेको छ । समाजसेवीहरु बाट प्रवर्धित मानव सेवा आश्रम अहिले मानवताको पर्याय नै बनेको देखिन्छ । झनै, २०८२ सालभित्र सडक मानवमुक्त राष्ट्र बनाउने आश्रमको उद्धेश्य रहेको पाउँदा मन उत्तिकै रमाएको छ ।

आश्रय नपाएर सडकमा भौंतारिइरहेका मानिसका लागि अहिले यो आश्रम जीवन जीउने आधार नै बनेको छ। घर परिवार र समाजबाट अपहेलित भएकाहरूलाई प्रदान गरेको सेवाले मानववादी दृष्टिकोणलाई व्यवहारमै उतार्न आश्रम सफल भएको छ। सडकमा झुत्रे झाम्रे लुगा लगाएर वा नाङ्गै हिँडिरहेका,उचित उपचार नपाएर सडकमै अलपत्र भएका र आफ्नै बुबा आमाबाट बेचिएका धेरैको जीवन शैली अहिले परिवर्तन भएको छ। उद्धार गरिएकाहरूले आनन्दको जीवन बिताउनका लागि ठूलो घर पाएका छन् । यी सबै सेवाको श्रेय मानव सेवा आश्रम र त्यसका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई नै जान्छ ।

‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’को समापन समारोह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी आगामी संसद् अधिवेशनमा विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मानव सेवा आश्रमले आज आयोजना गरेको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताएका हुन्। यस्तै, सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आ–आफ्नो तहबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल तथा समन्वय गर्ने प्रधानमन्त्री दाहालले विश्वास दिलाए।

मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार वाहनलगायत अत्यावश्यक सेवामा आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताए। मानव सेवाको भावनाद्वारा ओतप्रोत भई आश्रमले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै प्रधानमन्त्री दाहालले यस महाअभियानको सफलताको कामना गरे।

सातवटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्रहरु सञ्चालन गरी खुला आकाशमुनि रहेका सात हजारभन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा परिवार भेटिएका वा भेटिन सम्भव नभएकाको परिवारको खोजी गरी परिवारमा पुनर्मिलन गराएको प्रधानमन्त्रीको भनाइ छ।

यस्तै, आश्रममा उद्धार, उपचार, गाँसबासको प्रबन्ध गर्दै देशलाई नै सडक मानवमुक्त नेपाल घोषणा गर्ने आश्रमको आकांक्षा, सङ्कल्प र पहललाई प्रधानमन्त्रीले सम्मान व्यक्त गरे। राज्यले नै गर्नुपर्ने यस प्रकारको महत्त्वपूर्ण अभियान र जिम्मेवारी बहनका लागि यस अभियानमा संलग्नलाई आभार व्यक्त गर्दै प्रधानमन्त्रीले यो अभियानमा सरकार साथमा रहेको विश्वास दिलाए।

यस्तै, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरु गुनासो भन्दा पनि कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्ने बताएका छन् । उनले नेकपा एमाले कर्मक्षेत्रमा खटिरहेको दाबी गर्दै मानवीय सेवाको महाअभियानमा सधैँ र सबै अवस्थामा साथमा रहने प्रतिबद्धतासमेत जनाए ।

आश्रमले अहिले विभिन्न जीवनोपयोगी तालिम, सेमिनार, अन्तरक्रिया, नाटक एवं मानववादी दृष्टिकोण प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। आश्रमको मुख्य कार्यालय,मकवानपुरको हेटौडामा रहेको छ। करिब १२ करोडको लगानीमा आश्रमको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएको छ।

‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले गत असोज २७ देखि मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको थियो। बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै अभियान्ताहरुले दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाएका थिए । अभियानमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन वरिष्ठ समाजसेवी एवं फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्माले गरेकी थिईन् ।

देशका सबै प्रदेशमा पुगेर गरिएको उद्धार यात्रामा कुल ३ सय ४ जनाको उद्धार गरिएको छ । कोशी प्रदेशबाट ५१, मधेश प्रदेशबाट ४४, बागमती प्रदेशबाट ९९, गण्डकी प्रदेशबाट ४५, लुम्बिनी प्रदेशबाट ५४, कर्णाली प्रदेशबाट ३ र सुदुरपश्चिम प्रदेशबाट ८ जना गरी जम्मा तीन सय ४ जनाको उद्धार गरिएको छ ।

यस्तै आश्रमले अहिलेसम्म ३ हजार ३ सय ६८ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको छ। यस्तै आश्रममा आएर उपचार पाएपछि शारीरिक र मानसिक रुपमा ठीक भएर रोजगारीका लागि ७ सय ६५ जना गएको आश्रमको तथ्यांकमा उल्लेख छ।