आइतबार, बैशाख ०६, २०८३

मानव सेवा आश्रमद्वारा १० सडक मानवको उद्धार

कोशी, झापा । गत २६ गते काठमाडौंबाट मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमका यात्रीहरुले उद्धारको काम सुरु गरेका छन् ।

बिहिबार मेचीनगर काकट्भित्ताबाट सुरु गरेको उद्धार कार्यक्रममा सुरुङगा क्षेत्रसम्म आईपुग्दा १० जना सडकआश्रित हुनपरेका मानवहरुको उद्धार गरिएको छ । जसमा ३ जना महिला, ६ जना पुरुष र १ जना बालिकाको उद्धार गरिएको छ ।

उद्धारको क्रममा मानव सेवा आश्रमका अभियन्तासँगै स्थानिय सरकार र प्रहरी प्रशासनको सहयोग लिएर सडकमा बेसहारा बसिरहेका व्यक्तिको उद्धार गरिएको हो। खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, बेसहारा, अनाथ, असक्त, अपाङ्ग, असहाय एवं मनोरोगी तथा जीवन नै जोखिममा रहेका हरेक उमेर समूहका व्यक्तिलाई विभिन्न वडाहरुबाट उद्धार गरिएको हो ।

साथै, विहिबार उद्धार भएका सडक आश्रित व्यक्तिहरुलाई कनकाई नगरपालिकास्थित उद्योग वाणिज्य संघको भवनमा ल्याएर उनीहरुको सरसफाई, खानपान र लत्ताकपडाको व्यवस्थापन गरिएको थियो । उनिहरुको दिर्घकालिन व्यवस्थापनको लागी मानव सेवा आश्रमले विराटनगरस्थित आश्रममा आईतबार साझा नै पठाएको थियो ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सडकमा बेसहारा भएका मानवको उद्धारले मानव सेवा आश्रम परिवारको सदस्य बढेको र थप जिम्मेवारी बहन गर्न पाउँदा खुसि व्यक्त गर्नुभएको छ । चलिरहेको यस उद्धार यात्रामा कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेलले समेत यस्तो काममा स्थानिय सरकारको सहभागिता हुनुपर्ने र सरकार हरेक सहयोगको लागी तत्पर रहेको बताउनु भएको छ ।

आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको सहकार्यमा जारी उद्धार यात्रा आगामी मङसिर ४ गतेसम्म मेचीदेखि महाकालीसम्म चल्नेछ
। यससँगै, स्थापनाकालदेखि हालसम्म करिब ९ हजार सडक मानवलाई आश्रय दिँदै आएको आश्रमले औषधोपचार, पालनपोषण, मनोविमर्श, प्रारम्भिक स्वास्थ्य तथा मनोचिकित्सकीय सेवा, सुधार भएका र सक्षमका लागि जीविकोपार्जनसम्बन्धी तालीम दिँदै आएको छ।

सुधारपश्चात् परिवारको खोजी, पारिवारिक पुनर्मिलन, पारिवारिक पुनर्मिलन हुन नसकेकाको दीर्घकालीन संरक्षणजस्ता सेवा प्रदान गर्दै आएको उक्त संस्थाले जनाएको छ । मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य सहित २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको सामाजिक संस्था हो ।