बुधबार, असोज १०, २०८०

नेपालमा बसेरै वार्षिक २० लाख भित्र्याउँछन् आईटी प्रोफेसनलहरू

काठमाडौं । नेपालमा बसेर सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरिरहेका एक जना दक्ष आईटी प्रोफेसनलहरुले वार्षिक औसत २० लाख रुपैयाँभन्दा बढी मुलुकमा भित्र्याउने गरेका छन् ।

सर्वाङ्‍गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)ले गरेको एक अध्ययनले दक्ष आईटी फ्रिलान्सरहरुले औसतमा वार्षिक १५ हजार ३ सय २२ अमेरिकी डलरबराबरको सेवा निर्यात गर्ने देखाएको हो ।

विश्वका अन्य मुलुकमा भने सूचना प्रविधि क्षेत्रलाई नीतिगत रूपमा नै राज्यले प्रवर्द्धन गर्ने गरेको छ । तर नेपालमा भने सरकारको सहयोगविना नै आईटी कम्पनी तथा प्रोफेसनलहरुले सूचना प्रविधिको सेवा निर्यात गरेर ठूलो सम्भावनाको ढोका खोलिरहेका छन् ।

अध्ययनले सन् २०२२ मा मात्रै करिब ६८ अर्ब रुपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको देखाएको छ । यसले नेपालको कुल ग्राहस्थ उत्पादनमा सूचना प्रविधि क्षेत्रबाट १.४ प्रतिशत र कुल विदेशी मुद्रा आर्जनमा साढे ५ प्रतिशत हिस्सा ओगटेको अध्ययनको निष्कर्ष छ।

सूचना प्रविधिका क्षेत्रमा काम गर्नेहरुले मुलुकमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको आईआईडीएसकी परामर्शदाता डा. अमृता शर्मा बताउँछिन् ।