काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८० मा दश जना कविका रचना उत्कृष्ट रहेको घोषणा गरिएको छ ।
प्रतिष्ठानले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारासहित मुलुकमा बोलिने जुनसुकै मातृभाषामा नेपाली अनुवादसहित रचना आह्वान गरेको थियो । जसअनुसार तोकिएको म्यादभित्र महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी ८९२ वटा कविता प्राप्त भएका थिए । तीमध्ये २५ कविले शनिबार आयोजित कविता महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए ।
महोत्सवको कविता मूल्यांकन समितिमा कविहरू प्रतिसरा सायमी,रमण घिमिरे ,हाङयुग अज्ञात,ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको एक छनोट समितिले मूल्याङ्कन गरी २५ जना कविका कवितामध्ये १० जना उत्कृष्ट घोषणा गरिएको हो ।
१० उत्कृष्टमध्ये नेपाली भाषातर्फ उमेश पुन, कृपाकरुणा पोखरेल, जीवन आरोही, तीर्थराज विश्वकर्मा, नवीन अभिलाषी, प्रकाश दिप्साली राई र राधिका कल्पित छन् । यसैगरी डोटेली भाषातर्फ खिमानन्द जोशी र पूर्णानन्द ओझा तथा खाम मगर भाषातर्फ टंकबहादुर झाँक्री मगर (समीप बैरागी) उत्कृष्ट भएको सदस्यसचिव धनप्रसाद सुवेदीले विज्ञप्तिमा जनाएका छन् । उत्कृष्ट १० कविलाई जनही २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी महोत्सवमा अतिथि कविहरू नर्मदेश्वर प्रधान, रमण घिमिरे, गोपाल अश्क, रामबहादुर थापा मगर, सन्जाकुमारी दनुवार, धीरेन्द्र प्रेमर्षी, योगेन्द्र प्रधान , दिग्विजय मिश्र, केवल विनाबी, गीता कार्की, प्रगति राई, मुक्तान थेवा, प्रकाश गुरागाई, भूमिका चौधरी, हाङयुग अज्ञात, टङ्कमणि अधिकारी‚ सोझो गाउँले, स्वप्निल स्मृति, डा। सोमबहादुर धिमाल, शोभा सुनुवार, रचना तामाङ ‘यात्री’ , छम गुरुङ र वसन्त बर्लाकोटीले कविता वाचन गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिष्ठानको ६६औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०८०को उद्घाटन गर्दै नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गरे । सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व रहेको उनको भनाई छ ।
यस्तै, प्रतिष्ठानका संरक्षक एवं संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीले नेपाली भाषा, साहित्य, संस्कृति र कलाका दृष्टिकोणले समृद्धिको जग थप बसाल्न सक्ने सम्भावना छ र यसलाई हामीले विश्वभरि पुर्याउनुपर्ने बताए । उनले प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ प्रधान सम्पादक रहेको बाल पत्रिका लालपातेको विमोचन गरिएको थिए ।
कार्यक्रममा, प्रतिष्ठानका कुलपति भूपाल राईले प्रधानमन्त्री एवम् प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक ‘प्रचण्ड’लाई प्रमुख संरक्षकको प्रतीक चिह्न तथा पुस्तक हस्तान्तरण गरेका थिए । यसैगरी, प्रधानमन्त्री दाहालले प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी र जमुना कुचिकार लगायतका विविध खेलकुद विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । यस अवसरमा कलाकारहरू विकासनाथ योगी, सुरेश बज्राचार्य र रमेश अधिकारीले वाद्यवादन प्रस्तुत गरिएको थियो ।
प्रतिष्ठानका कुलपति तथा महोत्सवका सभाध्यक्ष राईले कुनै कुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन समय समयमा त्यसमा सकारात्मक ध्वंस भएर विकास भएको बताए । यस क्रममा भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुरले नेपाली जनताको बहुभाषिक चरित्रअनुसार यस वर्ष प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरेकोमा आफूलाई गौरवबोध भएको कुरा उल्लेख गर्दै शुभकामना पत्र पठाएर ऐक्यबद्धता जनाएका थिए ।

