सोमबार, जेठ ११, २०८३

अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनुहुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय कविता महोत्सवमा यस पटकदेखि बहुभाषी कविता समावेश गरिएको थाहा पाउँदा खुसी लागेको प्रधानमन्त्री दाहालले बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आगामी वर्षदेखि नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुने र राष्ट्रिय कविता महोत्सव आफ्नो नामअनुसार साँच्चिकै राष्ट्रिय कविता महोत्सवका रूपमा अरु स्थापित हुने बताएका हुन् । नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने उनको भनाई छ । उनले यथास्थितिका सौन्दर्य चेतनाले मात्रै अब नपुग्ने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट पारे। नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै उहाँले सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको प्रष्ट्याए।

प्रधानमन्त्री दाहालले नेपालको संविधान, २०७२ को मर्म र भावनाअनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवद्र्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा–प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औँल्याए । उनले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसकेमा मात्र सफल हुने बताए।

नेपालका भाषा, साहित्य, कला, संस्कृतिलगायत ज्ञान–विज्ञानका विभिन्न शाखाको अध्ययन, अनुसन्धान तथा विकास गर्ने उद्देश्यका साथ २०१४ सालमा नेपाल साहित्य कला एकेडेमीका रूपमा स्थापना भएको यस प्रतिष्ठान परिवर्तित हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानको रूपमा हाल सञ्चालनमा छ ।

विसं २०६२/६३ को जनआन्दोलनपश्चात् साविकको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट ललितकला र सङ्गीत नाट्य विधालाई छुट्टै प्रतिष्ठानका रूपमा गठन गरिएकोले नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिकशास्त्रका क्षेत्रमा अध्यययन–अनुसन्धान र प्रकाशनका काम गर्दै आइरहेको छ ।

प्रधानमन्त्री दाहालले जनयुद्धको जगमा भएको २०६२÷६३ सालको जनआन्दोलन र त्यसबाट निर्मित नेपालको संविधान २०७२ को मर्म र भावनाअनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवद्र्धन र विकास गर्दै अघि बढ्नु वर्तमान प्रज्ञा–प्रतिष्ठानको दायित्व र कर्तव्य भएको बताए।

नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र सफल हुने प्रधानमन्त्री दाहालको भनाइ छ । उनले सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रूपान्तरण हुन नसकेको स्पष्ट पारे। नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संघीय, समानुपातिक, गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको उहाँले बताए ।

प्रधानमन्त्री दाहालले भने, “आजको यही युगीन आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारले आज नयाँ प्रज्ञा परिषद् तथा प्राज्ञ सभाको गठन गरेको छ । आजको युगीन दायित्वलाई आत्मसात गर्दै उत्पादनमूलक राष्ट्रिय अर्थव्यवस्थाको विकास गरेर नेपाल राज्यले लिएको समाजवादोन्मुख व्यवस्थाको लक्ष्य पूरा गर्न आवश्यक पर्ने श्रमको सम्मानमा आधारित अन्तर्वस्तु र सौन्दर्यशास्त्रको निर्माण गर्ने साहित्य र संस्कृतिको निर्माण गर्ने काम यस प्रतिष्ठानले सफलतापूर्वक सम्पन्न गर्नेछ भन्ने विश्वास मैले लिएको छु ।”

प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्वका तर्फबाट सरकारसमक्ष आएका नयाँ र सिर्जनात्मक प्रस्तावप्रति सरकार सकारात्मक रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । उनले भने, “त्यसप्रति सरकारकोतर्फबाट आवश्यक पहल भइरहेको छ । प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र सम्वद्र्धन जोड दिने, नेपालको परिवर्तनको सौन्दर्य, श्रमजीवी वर्गको सौन्दर्य र सिर्जनामा जोड दिने कुराप्रति सचेत रहेको बुझेको छु । त्यसमा सरकारको भरपूर रहयोग रहने छ ।”

विसं २०२२ देखि सुरु भएको कविता महोत्सवमा यस पटकदेखि बहुभाषी कविता समावेश गरिएको थाहा पाउँदा खुसी लागेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । त्यसबाट उत्साहित भएर कविहरुले यस पटक यो दशकमै सबैभन्दा बढी कवि सहभागी भएको थाहा पाउँदा खुसी लागेको उनले उल्लेख गरे । यसपटक झन्डै तीन दर्जन भाषाका कविता महोत्सवमा सहभागी भएका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कविता महत्सोवको महत्व र यसको सांस्कृतिक पक्षका बारेमा चर्चा गर्दै मन्त्रालयले त्यकास लागि आवश्यक सहजीकरण गरिरहेको बताए। मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको नेतृत्वमा देशमा शान्ति स्थापना भएको समेत बताए । अब, प्रधानमन्त्री दाहालकै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना रहेको उनले बताए ।

उनले प्रधानमन्त्री दाहालकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताए। मन्त्री किराँतीले भुगोलका हिसाबले सानो भएपनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको बताए । सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारकोविरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको उनले बताए । सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रिय कविता महोत्सवका बारेमा जानकारी गराएका थिए ।