बिहिबार, बैशाख ०३, २०८३

बूनपा १२ मा निःशुल्क आँखा तथा दन्त शिविर, ५ सय ७४ जनाले लिए सेवा

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर बाह्रमा एक दिने निः शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । शनिबार वडा नं. १२ को आयोजना तथा बाल सचेतना केन्द्र नेपालको संयोजनमा निः शुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो ।

बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालका अनुसार त्रि ज्योती मा.वि कपनको प्राङ्गणमा भएको उक्त शिविरमा २९२ जनाले दन्तसम्बन्धी र २८२ जनाले आँखासम्बन्धी सेवा लिएका थिए । काठमाडौंको गोपीकृष्ण हलस्थित ॐ समाज डेन्टल हस्पिटल र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग उक्त शिविर सम्पन्न भएको थियो । उनीहलाई चेकजाँचसगै निः शुल्क औषधी समेत प्रदान गरिएको थियो ।

वडाध्यक्ष सम्भु प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई नगर प्रमुख मिठाराम अधिकारीले उद्घाटन गरेका थिए । अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका स्थानीयलाई लक्षित गरी शिविर सञ्चालन गरिएको वडाध्यक्ष भट्टराईले बताए ।स्वास्थ्य परीक्षण लगायतका सेवाहरु वडाले आगामी दिनमा पनि पुनः संचालन गर्दा वडामा रहेका बुवाआमाहरुको स्वास्थ्यमा कम समस्या हुने उनको भनाई छ।

नगर प्रमुख अधिकारीले भने स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा हुने भएकाले स्थानीयदेखि सरकारले स्वास्थ्य क्षेत्रममा विशेष ध्यान दिनुपर्ने बताएका छन् । निः शुल्क स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीय तथा सेवाग्राही हर्षित भएका छन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, डाक्टर नर्सहरु, विद्यार्थी, संस्थाका सदस्य तथा सल्लाहाकार लगायतका स्थानीयहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

यसअघि पनि बाल सचेतना केन्द्र नेपालले स्वास्थ्य शिविर, वृद्धवृद्धा र बाल आश्रमहरुलाई खाद्यान्न तथा लत्ता कपडा, निशुल्क सिलाई बुनाई तालिम, बालबालिकाहरुका लागि क्षमता अभिवृद्धिका साथै सचेतनामुलक कार्यक्रअरु गर्दै आएको छ । केन्द्रको स्थापना २०६८ सालमा भएको थियो । संस्थाले विशेष गरि महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।

यसैगरी, आज र भोली वडा नं. १२ को सभाहल, दुर्गा मन्दिरमा युवा लक्षित अभिमुखिकरण तालिम रहेको छ ।