शुक्रबार, असार ०१, २०८१

जापानमा सडक दुर्घटना : बसलाई ट्रकले ठक्कर दिंदा २ नेपालीसहित तीन जनाको निधन

टोकियो । जापानको मियागी प्रान्तको कुरीहारा शहरको तोहोकु एक्स्प्रेस वेमा रोकिरहेको बसलाई ट्रकले ठक्कर दिंदा तीन जनाको निधन भएको छ ।
मे १६ तारिख साँझ ८ बजेको समयमा काममा जाँदै गरेका नेपाली विद्यार्थीहरु चढेको बसलाई ट्रकले ठक्कर दिएर दुर्घटना हुँदा २ जना नेपालीसहित ३ जनाको निधन भएको हो।

जापानी समाचार संस्था एनएचकेको अनुसार हालसम्म २ जना नेपाली सहित ३ मृत्युको पुष्टि भएको जनाएको छ । दुर्घटनामा अचेत अवस्थामा पाइएका तीन जना मध्ये दुईजना नेपाली विद्यार्थी र एकजना बसका चालिका रहेकी छन् ।

मियागी प्रान्तको कुरिहारा शहरमा पर्ने तोहोकु एक्स्प्रेस वेमा काम लगाउने अर्थात् हांकेन कम्पनीले काम गर्ने कम्पनीतर्फ बस जाँदै थियो । उक्त बसमा करिव ४० जना सवार थिए । बसमा चढेका मध्ये सबैजसो नेपाली र बंगलादेशका विद्यार्थीहरु थिए । बस एक्सप्रेस वेको बिच भागमा गुडिरहेकै अवस्थामा प्राविधिक गडबडी आएपछि रोकिए र मर्मत गरिरहेको अवस्थामा सोहि दिशातिर आएको ट्रकले ठक्कर दिएको थियो ।

बसले ठक्कर दिंदा दुई नेपाली विद्यार्थी र बसको महिला चालिका चेकजाँच गरिरहेका थिए । ट्रकले अकस्मात ठक्कर दिंदा उनिहरु तीनैजना घटनामा गम्भिर घाईते बन्न पुगेका थिए । घाईते मध्ये एक नेपाली विद्यार्थीलाई करिव आधा घण्टापछि बसमा च्यापिएको अचेत अवस्थामा निकालिएको थियो ।
प्रत्यक्षदर्शीहरुका अनुसार चाहिला चालक सहित दुई जना नेपालीको जीवन रहेको कुनैपनि संकेत देखिएको थिएन । ट्रकका चालक समेत गम्भिर घाइते साथै चिन्ताजनक अवस्थामा उद्दार गरिएको थियो ।

ट्रकले ठक्कर दिएर उछिट्टिएको केही भागले १०० मिटर पर उभिएका केही नेपाली विद्यार्थी घाइते भएका थिए । तर उनिहरुको अवस्था सामान्य रहेको छ ।