जापान । मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विदेशी जेलमा एक हजार ३० जना नेपालीहरु विदेशी जेलमा थुनिएर बसेका छन् ।
हालै सार्वजनिक गरेको मानव अधिकार आयोगले सो प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदन अनुसार जापानमा मात्रै १५ जना नेपालीहरु जेलमा थुनिएको अवस्थामा रहेको जनाएको छ । उनीहरु के कस्ता कसुर वा अपराधमा जेल परेको भन्ने चाँहि प्रतिवेदनमा खुलाइएको छैन ।
पछिल्लो समयमा जापानमा नेपालीहरुको मृत्युका घटनाहरु धेरै नै बाहिरिन थालेका छन् । रोग वा आकस्मिक कारणले भन्दा पनि आत्महत्या मुख्य कारणको रुपमा देखा परेको छ । सबैभन्दा धेरै नेपालीले कारावास भोगिरहेको देश भने संयुक्त अरब इमिरेट्स (यूएई) हो । त्यहाँ २६० जना नेपाली जेल जीवन बिताइरहेका छन् ।
दोस्रो धेरै मलेशियामा २२३ जना छन् । कुवेतमा १६८ जना, साउदी अरबमा १५३ जना र हङकङमा ८८ जना जेलमा भएको प्रतिवेदनले देखाएको छ । हालैका वर्षमा विदेशिने नेपालीहरुको संख्या वर्षेनी बढ्दो छ । जागिर, अध्ययन, व्यवसायलगायत कारणले गर्दा वर्षेनी ठूलो संख्यामा नेपाली विदेश गइरहेका छन् ।
नेपालीहरु विदेशिने क्रम बढेसँगै विप्रेषणआप्रवाह पनि बढेको छ । विप्रेषणको रुपमा देशभित्र अर्बौ रुपया आइरहेको छ । अर्थतन्त्रलाई चलायमान पनि बनाइरहेको छ । तर विदेशिनको संख्या बढेसँगै विदेशी जेलमा थुनिएर बसेका नेपालीहरुको संख्या पनि बढ्दो छ ।

