परिवर्तनशिल आन्दोलनकी गायिका हुन पाउनुमा गर्व लाग्छ : गायिका निर्मला घिसिङ

मकवानपुर जिल्ला फापरबारी गाबिस वडा नम्बर ४ लामिटारमा २०४७ सालमा एउटा साधारण परिवारमा जन्मेकी प्रगतिशिल गायिका निर्मला घिसिङको प्राम्भिक शिक्षा गाउँकै चौरा प्राथमिक बिध्यालयबाट सुरु भयो ।
काठमाडौंको बौद्ध फुलबारीमा कक्षा ३ सम्म अध्ययन गरेर फेरि फापरबारीमा रहेको लोकहित माबिमा कक्षा ८ सम्म अध्ययन गर्दै गर्दा परिबर्तनको ख़ातिर माओबादी आन्दोलनमा लागेकी उनी ०५९ देखि भूमिगत भएकी थिएन । ०६२–६३ को आन्दोलनपछि मात्रै आफ्नो अध्ययनलाई निरन्तरता दिदै हाल रत्न राज्य लक्ष्मी क्यम्पसबाट मानबिकीमा पत्रकारिता र अंग्रेजी विषयमा स्नातक समेत गरेकी घिसिङ अहिले व्यावसायिक गीत–संगीतमा निकै व्यस्त छिन् । निर्मलाको जीवनको आरोह–अवरोह र गीत–संगीत यात्राबारे मातृ सन्देश डट कमको लागि संचारकर्मी चसिला तामाङले तयार पारिएको अन्तर्बार्ता

• निर्मला जी साँन्चै हुनुहुन्छ? हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
– सन्चै छु, गितसंगितमै व्यस्त छु, भर्खरै दोस्रो एलबम ल्याए “खबर” यसकै प्रमोशनको तयारीसंगै अफिसकै काममा पनि व्यस्त छु ।
• निर्मलाको सांगितिक यात्रा कहाँबाट शुरू भयो ? कसरी यो क्षेत्रमा आउनु भयो ?
– सानैदेखि गाउने नाच्ने विषयमा म अगाडीनै थिएँ । स्कुलमा, घरमै पनि साथिहरुसँग खेल्दा गित गाएरै खेलिन्थ्यो । रेडियोमा बज्ने गितहरु सुनेर, फिल्मका गानाहरु सुनेरनै गित गाउन सिकियो । कलाकार नै बन्छु भन्ने त थिएन, गित गाउने गुण भएका कारण साथिहरुले गायीका बन्नु पर्छ भनेर हौस्याउँथे, स्वर मिठो छ भन्दा गायीका बन्ने सपना चाँही थियो र त्यहि सपनालेनै मलाई यहाँसम्म ल्याएको हो । nirmala 1
• शुरूमा त तपाई लाई जनबदी गीत संगीतले नै नेपाली गीत संगीत मा चिनाउनु भयो भन्दा फरक नपर्ला हगि निर्मला जी ?
– एकदमै हो, मैले आफ्नो गायन प्रारम्भ प्रगतिशिल गितसंगीतबाट नै प्रारम्भ गरेकी हुँ ।
• जनतालाई जागरण जगाउने गीत गाउदाको संघर्षको दिनहरू कसरी सम्झिनुहुन्छ?
– एकदमै धेरै दुख गरियो । साँस्कृतिक कार्यक्रम देखाउनकै लागि घण्टौँ हिडेका छौँ । कहिले रातभरी त कहिले कयौँ दिन हिँडेरै हामी दुर्गम जनताका गाउँबस्तिमा पुगेका थियौँ । यात्रामा भोक लाग्दा हामीसँग खानाका लागि चिउरा र दालमोठ बाहेक अरु हुँदैन थियो भने कहिले पानी पिउँदै पनि भोकलाई टारेका छौँ । एकदमै संघर्षपुर्ण दिनहरु थिए । तथापी जोस र जाँगरको कुनै कमि थिएन । हामी सांस्कृतिक टिममा हुन्थ्यौँ, कयौँ दिन साँस्कृतिक कार्यक्रमका लागि रिहलसल गथ्यौँ । माओवादी आन्दोलन चरम उत्कर्षमा थियो । परिवर्तनका गित गाउने हामी कलाकारहरु, अहिले नेपालमा जुन राजनीतिक व्यवस्थाको परिवर्तन भएको छ यी परिवर्तनकालागि हामी गित गायौँ त्यसबेला । एकदमै जोखिम थियो । मर्ने र बाँच्नेको कुनै ठेगान थिएन ।
• जनताको गीत गाउनुपर्छ भन्ने बिचार चाहि कसरी शुरू भयो नि ?
– २०५९ सालमा म कक्षा ८ मा पढ्दै थिएँ गाउँमै, त्यसबेला गाउँगाउँमा माओवादी आन्दोलन थियो । माओवादी नाराहरु एकदमै राम्रा थिए । खुशीराम पाख्रिनका गितहरुले आन्दोलनमा लाग्न बढी प्रेरणा दिन्थ्यो । गरिब र धनिबीचको समानता, पिछडीएका जाति समुदायलाई अधिकारको कुरा, महिला अधिकारका कुरा विशेषगरी यी विषयहरुले मलाई आन्दोलनप्रति आकर्षित बनाएको हो । र यसरीनै मैले जनताको गित गाउन सुरु गरेँ ।
• माओबादी नजिक भएर गीत गाउनु भएर हो कि तपाईलाई त माओबादी गायिका हो भन्ने आरोप छ नि, यस बिषयमा के भन्नुहुन्छ ?
– परिबर्तनको आन्दोलनको खातिर अहिले जति जाती पनि राजनितिक/ सामाजिक रुपमा परिबर्तन भए त्यो माओबादी आन्दोलन्द्वारा प्राप्त उपलब्धी हो जस्तो मलाई लाग्छ । यसर्थमा पनि म आफुलाई परिबर्तनको आन्दोलनकी गायिका हुन पाउँनुमा गर्व गर्छु । यो अवसर सबैको लागि उपलब्ध नहुँदो रहेछ जुन मैले पाएँ । म सम्पुर्ण नेपाली जनताकै गायीका हुँ ।
• अनि तेसो भए तपाईलाई कस्तो किसिमको गायिका भन्न चाहनुहुन्छ नि ?tamang
– त्यो त स्रोता, दर्शकले भन्ने कुरा हो । आफैले आफैलाई भन्नुपर्दा चाँहि संगितप्रति लगनशिल गायीका हुँ । कम्तिमा परिवर्तनशील आन्दोलनको गायिका मानिदिए हुन्थ्यो परिवर्तनशील आन्दोलनको प्रतिभावानलाई कदर हुनुपर्छ कि हजुर ।
• निर्मला घिसिङको स्वर अति नै मिठो,कर्णप्रिय स्वरमा जादू छ भन्छन नि ? वास्तवमा तपाईलाई आफ़्नै स्वर कस्तो लाग्छ ?
– मलाई गायीकाको रुपमा स्विकार्नु भएकोमा स्रोतालाई धन्यवाद भन्न चाहन्छु । आफ्रनै स्वर मलाई पनि राम्रो लाग्छ । पहिला सानै हुँदा ईनारमा घोप्टो परेर गित गाउँथे, अनि गुन्जिएर आएको आफ्नै स्वर सुनेर दंग पर्थेँ ।
• तपाईको पहिलो प्राथमिकतामा पर्ने गीतहरू केहीको नाम लिनुपर्दा कसरी लिनु हुन्छ ?
– मैले अहिले सम्म आउँदा धेरै गित गाएँ, धेरै गितहरु सामाजीक शन्देसमुलक थिए भने कति चाँही कमर्शियल गितहरु पनि छन् । त्यसमध्येमा पनि मलाई मन पर्ने गितहरु, कस्ले बनायो दाजै उडिजाने बस,तिमी झन आगो बन्नु, काँडाहरुको बिचमा, उकाली ओराली जिवन बोलको गित विशेष प्रिय लाग्छ ।
• नेपाली गीत संगीत बाहेक तामाङ गीत संगीत पनि गाउनु हुन्छ, तामाङ गीत संगीत चाहि प्राय कस्तो खालको गीत गाउनु हुन्छ ?
– तामाङ साँगीतिक क्षेत्रमा चाँही मैले विशेषगरी फिल्मका गितहरुनै गाएकी छु । सिंगल ट्रयाक, एल्बमका लागि पनि गाएकी छु ।
• अहिले सम्म कति जती नेपाली अनि तामाङ गीत हरू गाउनु भयो र कति एल्बम निकाल्नु भयो ?
– समग्रमा अहिले सम्म २०० बढी गाएँ । तामाङ गितहरु पनि दर्जन बढी गाएँ । मैले आफ्नै सोलो एल्बम अहिलेसम्म २ वटा गरेँकी छु । २ वर्षअघि “रहर” नामको एल्बम गरेँ भने अहिले हालसालै तामाङ सोनाम ल्होछारको अवसर पारेर “खबर” एल्बम गरेँ ।
• शुरूमा कस्तो किसिमको गीतहरू सुन्नुहुन्थ्यो? गायिका भन्ने पहिलेदेखिको सपना थियो ?
– शुरु देखिनै मलाई मेलोडियस गाना मनपथ्र्यो र यस्तै गितहरु बढी सुन्ने गर्थेँ । त्यस्तै गरी गाउने प्रयास गर्थेँ । सेमि क्लासिकल गितहरुबाट एकदमै बढी प्रभावित भएँ । गायीका बन्ने सपना चाहि पहिले देखि नै थियो ।
• तपाई गीत संगीत बाहेक अरु के मा रुचि राख्नुहुन्छ ? देश विदेशमा रहेका बिभिन्न संगीतप्रेमी ब्यक्तिसँग तपाइको कस्तो सम्बन्ध रहेको छ ?
– गित संगित बाहेक मलाई अध्ययनमा रुचि छ । किताबहरु धेरै अध्यन गर्न रुचाउँछु साथै घुम्न..लामो यात्रा गर्न रुचाउँछु । देश बिदेशमा रहनु भएका श्रोताहरु जतिले मलाई चिन्नु भाको छ,सबैजना संग राम्रो नै छ । उहाँहरुले सामाजिक संजालहरू मार्फत राम्रो प्रतिकृया अनि सल्लाह सुझाब पनि दिनु हुन्छ ।
• नेपाली गीत संगीत क्षेत्र भित्रको समस्या र चुनौति कस्ता छन् ?
– नेपाली गितसँगीत एकदमै कठिन अवश्थाबाट अगाडी बढ्दै छ, निश्चित मापदण्ड नहुँदा जो पनि कलाकार बन्ने अवश्था छ भने त्यसको प्रत्यक्ष असर सिंगो संगित क्षेत्रलाई परेको छ साथै प्रविधिको दुरुपयोगले संगित बजार ठप्प छ । राज्यले कलाकारको संरक्षण गर्न सकेको छैन । यस्ता धेरै समस्याहरु छन् नेपाली संगित क्षेत्रभित्र ।
• तपाईको श्रोता,दर्शक अनि पाठकलाई सुनाउन योग्य केही त्यस्तो दुखद अनि सुखद क्षण छ कि ? अनि जीबन के हो जस्तो लाग्छ तापाई ? 
– दुख सुख भनेको जिवनको पाटो हो । त्यसकारण यी दुवै विषयको अनुभव मसँग पनि छन् ।
• नेपालको कुन कुन ज़िल्ला अनि बिदेशमा कहाँ कहाँ जानुभयो? तपाईको भावी योजनाहरु के के रहेका छन? भन्न मिल्छ कि ?
– नेपालको पुर्व मेचिदेखि पश्चिम महाकाली सम्मको यात्रा गरेकी छु । विदेशकै लागि भने अहिले सम्म बेलायत, जापान र भारत सम्म पुगेकी छु ।
• अन्तमा, यो मातृ सन्देश डट कम मार्फत गीत संगीतको बारेमा आम समुदायलाई के भन्नु हुन्छ ?
– मेरो कुराहरु पाठक-स्रोताबर्ग सम्म पुर्याउन स्थान दिनु भएकोमा धेरै आभार व्यक्त गर्न चाहन्छु । तपाई अनि तपाईंको टीम साथै आगमी दिनहरूमा यस पत्रिकाको अझ उन्नतिको कामना गर्दछु ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: