बिहिबार, बैशाख १०, २०८३

८ औं सिल्भर रनिङ कप खुल्ला पुरूष भलिबल प्रतियोगिताकाे तयारी पुरा

टाेकियाे । गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

अप्रिल १० तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा हुने उक्त प्रतियोगिताको लागि व्यस्थापकीय सम्पूर्ण कार्य सम्पन्न भएको महासचिव हिमाल कंडेलले जानकारी दिए ।

“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि आर्थिक संकलन, ट्रफी,मेडल, प्रमाणपत्र निर्माण र छपाईको कार्य सम्पन्न भएको छ भने प्रतियोगितामा सहभागी हुने टिमले सम्पर्क गरिरहेको महासचिव कंडेलले जानकारी दिए ।
प्रतियोगिताको दिन जापानमा रहेका क्रियाशील सम्पूर्ण संघ संस्थालाई आमन्त्रण गरिएको पनि उनले बताए ।भलिबल खेलप्रति चासो राख्ने जापानमा रहेका खेलाडीको अधिकतम सहभागिताको लागि प्रचारप्रसारको कार्यलाई पनि तिव्र पारिएको छ ।

प्रतियोगितालाई सभ्य र भव्य बनाउनको लागि क्लबले प्रतियोगिता संचालनका लागि विभिन्न उप समिति विभाग बनाएर जिम्मेवारी प्रदान गरेको र ती समितिहरूले आफ्नो जिम्मेवारी अनुरूप कार्यसम्पादन गरिरहेको महासचिव कंडेलको भनाई छ ।

प्रतियोगिता संचालनका लागि कार्यसमितिको बैठकले कार्यक्रम मुल आयोजक समितिको संयोजकको जिम्मेवारी कार्यसमितिका अध्यक्ष डिलाराम निउरेलाई, कोषाध्यक्ष रमेश कुमार खत्रीलाई आर्थिक संयोजक, खेल संयोजक गणेश खत्रीलाई खेल सामाग्री तथा खेलाडी ब्यबस्थापन संयोजक,प्रचार प्रसार संयोजकमा महासचिव हिमाल कडेल, स्वयंसेवक तथा अतिथि ब्यवस्थापन संयोजकमा उपाध्यक्ष प्रकाश निउरे र हल व्यवस्थापनमा वरिष्ठ उपाध्यक्ष दुर्गा बहादुर खत्रीलाई जिम्मेवारी प्रदान गरेको सचिव दिनेश थापाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख २९ हजार ९ सय ९९ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख २९ हजार ९ सय ९९ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुई समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र प्रदान गरिने बताईएको छ ।
यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर, बेष्ट लिफ्टर र बेष्ट कोचलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताईएको छ ।

प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल टोकियोको कामाता स्पोर्ट्स सेन्टरमा बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ।

नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लवले विगत देखि नै निरन्तर रूपमा प्रतियोगिता संचालन गर्दै आएको छ।