काठमाडौं । बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा भएको छ।
तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक पहिचानको रूपमा रहेकाे जिवन्त पर्व तेमाल जात्रा रहेकाले यसलाई सफल बनाउनका लागि व्यवस्थापन, स्वयंसेवक, सुरक्षा समिति लगायत विभिन्न समितिहरू बनाएर तयारी गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार तामाङले जानाकारी दिए ।
चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गरिन्छ। ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्वलाई सरकारले राष्ट्रिय पर्वकाे मान्यता समेत दिईसकेकाे छ । जात्रमा नि शुल्क स्वास्थ शिविर, पिउने पानी, जुस लगायतकाे व्यवस्था गरिएको छ । यस्तै, हेल्प डेस्कमा समाजेवी एवं पत्रकार चन्द्र जित माेक्तान, सामुदायिक सेवा समिति,सामुदायिक प्रहरी, पर्यटन प्रहरीहरू हुनेछन् भने निशुल्क पिउने पानी वितरणमा छाेरङान महिला समूह, आनन्दपुर महिला समूह र बौद्ध व्यापार संघ रहेका छन् ।
जात्रामा विशेषगरी तामाङ समुदायले दिवंगत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमिबत्ती बाल्दै लामा गुरुहरुद्वारा विशेष पूजापाठ (ङोवा/मोन्लम) गर्छन्। जात्रा सुरु हुँदाताका तेमाल क्षेत्रका तामाङ मात्र सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको भनाइ छ। अहिले यस जात्रामा सहभागी हुन काभ्रेको तेमाललगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाही काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायका मानिस आउँने गर्दछन् ।
यसैगरी, बौद्ध फुटबल मैदानमा जात्रकाे अवसरमा दाङवाेला ग्युईठिम तामाङ संघद्वारा माैलिक साँस्कृतिक प्रस्तुतिसहित विशेष साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको छ । गाेकर्णेश्वर नगरपालिकाकाे संयाेजनमा हुने उक्त कार्यक्रममा जिल्ला जिल्लाबाट माैलिक जुहारी, ताम्बा लगायत प्रस्तुति हुने आयाेजक संस्थाका अध्यक्ष मिङ्मार तामाङले जानकारी दिए ।

