शुक्रबार, बैशाख १४, २०८१

अनमी मञ्जु भन्छिन्- “अप्ठ्यारोसँग त लड्ने हो, डराउने होइन”

काठमाडौं । हुनत, आधा आकाश ओगट्ने महिला समुदायलाई शिक्षाबाट वञ्चित गर्ने हो भने समाजका हरेक पक्ष अपाङ्ग हुन्छन् । तर, एक्काइसौं शताब्दीमा आएर पनि छोरा र छोरीबिच भेदभाव गर्ने चलन हाम्रो गाउँघर तथा शहरतिर उत्तिकै पाइन्छ ।

ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका १० मा बुबा चन्द्रबहादुर कार्की र आमा धनमाया कार्कीको कोखबाट जन्म लिएकी मञ्जु कार्कीले पनि आफ्नो परिवारको सहयोगको कारण समाजमा भएको छोरीलाई शिक्षाबाट वञ्चित गर्नुपर्छ भन्ने मान्यतालाई सफल पारेकी थिईन् । तर, जुन समयमा उनको संघर्षको दौडान अलिकठिन नै थियो।

२०६० सालदेखि नर्सिङ पेसामा लागेर उनले आफ्नो समुदायमा दुख पाएका व्यक्तिहरुलाई सहयोग गर्दै आएकी छिन् । यस्तै अनुभवको दौडानमा उनमा आफुले नसोचेको घटना आइपर्छ। जहाँ एक अपरिचित व्यक्तिले एउटा हत्केला र एउटा कुहिनो जोडेर ‘धन्यवाद सिस्टर’ भन्दै नमस्कार गरेपछि मञ्जु कार्की छक्क परिन्। झट्ट उनलाई ती व्यक्ति को हुन् भनेर ठम्याउन गार्हो पर्‍यो। उनलाई त्यो अनुहार कतै देखे जस्तो लाग्यो।

नजिकै आइपुगेर ती व्यक्तिले भने ,‘तपाईंले त्यो दिन मेरो हात नकाटी दिएको भए म मरिसकेको हुन्थें। होला। तपाईंले मेरो ज्यान नै बचाउनु भो नि।’ मञ्जुलाई बल्ल सम्झना आयो। वर्षौं पहिले अस्पतालमा काम गर्दा गर्दै तत्कालीन माओवादी लडाकुको अपहरणमा परेकी उनले डरैडरमा गोलीले छियाछिया भएको कसैको हात काटी दिएकी थिइन्। सोही व्यक्ति वर्षौंपछि आएर धन्यवाद भन्दा उनलाई अचम्मसँगै खुसीलाग्यो।

लगभग दुई दशकदेखि नर्सिङ पेसामा आवद्ध मञ्जुसँग दुर्गम क्षेत्रमा गएर काम गर्दादेखि द्वन्द्वकाल र कोभिडसम्मको अनुभव छ। विगत सम्झिँदा उनलाई कहिलेकाहीँ डर लाग्छ। तर दुख भने कहिल्यै लाग्दैन। ‘जीवनमा के के देखियो के के भोगियो हिजोलाई सम्झिएर के दुखी हुनु जे छ छ,’उनी भन्छिन्।

आमाले जन्म दिएका १६ मध्ये ११ जना सन्तान मात्रै बाँचे। आफ्ना घरभरिका भाइबहिनी र दाईदिदीलाई देख्दा उनलाई खुसी त लाग्थ्यो तर आमाको पीडा सम्झिँदा उत्तिकै डर लाग्थ्यो। ‘एक दिन सोचें म स्वास्थ्य क्षेत्रमा भएको भए घरमा आमालाई बुझाउन सक्ने रहेछु। यति धेरै सन्तान नजन्मिने रहेछन्। मेरो आमा जस्ताहरूलाई जनचेतना दिन सक्ने रहेछु। त्यसपछि मलाई यो क्षेत्रमा रुचि बढ्न थाल्यो,’ उनले भनिन्।

समाजमा चेतना फैलाउने उनको हुटहुटीले किशोर अवस्थामै स्वास्थ्य क्षेत्रमा काम गर्न प्रेरित गर्‍यो। र, बनिन् अनमी। देशमा आन्दोलन चलिरहेको थियो। त्यो समय उनी ताप्लेजुङ जिल्लाको खेजेनिम स्वास्थ्य चौकीमा एमसिएचडब्लु मदर चईल्ड हेल्थ वोर्करको रुपमा कार्यरत थिइन्। २०५७ सालबाट नै उनी स्थायी रुपमा स्वाथ्य क्षेत्रमा काम गर्न थालीसकेकी थिइन्।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत काम गर्दागर्दै तत्कालीन माओवादीका कार्यकर्ताले उनलाई २०६२ सालमा स्वास्थ्य चौकीबाटै अपहरण गरे। ‘अपहरण गरेर लागेपछि, हामी तपाईंलाई डाक्टर पढाईदिन्छौं। हामीसँगै हिड्नुस् भनेर उनीहरूले मलाई धेरै कर गरेका थिए। मैले मानिन। त्यो समय मैले निकै यातना पनि भोग्नु परेको थियो। त्यसपछि १३ दिनको दिनमा मलाई छोड्दिए,’ उनले विगतको त्यो घटना सम्झिइन्।

अपहरणमा परेको समयमा भएको एउटा घटनाले उनलाई स्वास्थ्य क्षेत्रमा काम गरिरहने हो भने थप पढ्नै पर्ने रहेछ भन्ने महसुस गरायो। ‘मैले स्वास्थ चौकीमा काम गर्दागर्दै सामान्य रुपमा गरिने केही कामहरू सिकिसकेको थिए। अपहरणमा पर्दा एक दिन उनीहरूले हातमा गोली लागेको एउटा मान्छेलाई म सम्म ल्याइदिए। उसको हात गोलीले छियाछिया भएको थियो। उसको हात काट्न उनीहरूले मलाई दबाब दिइरहेका थिए। डरैडरमा मैले उनीहरूले भने झैँ त्यो मान्छेको हात काट्दिएँ,’ उनी सम्झिन्छिन्, ‘त्यो मान्छे बच्यो या मर्‍यो होला भन्ने कुराले मलाई लामो समय सताई रह्यो। तर वर्षौंपछि उक्त व्यक्तिसँग भेटेपछि मलाई आफ्नो पेसाप्रति गर्व लाग्यो। काम गर्न झन् धेरै ऊर्जा मिल्यो।’

माओवादीको अपहरणबाट निस्किएपछि उनले ०६३ सालमा सुर्खेतको सेडा क्याम्पसबाट १८ महिने एएनएमको अध्ययन सुरु गरिन्। त्यो भन्दा अगाडी उनले ताप्लेजुङबाटै एसएलसी मात्रै पास गरेकी थिइन्। एएनएम अध्ययन गर्नु अघि उनी स्वास्थ्य चौकीमा एमसिएचडब्लु मदर चईल्ड हेल्थ वोर्करको रुपमा लामो समय काम गरिन्।

कुनै समय पढाई र अनुभव बिना नै काम गरेकी मन्जु अहिले स्नात्तोकोत्तर पनि हेल्थ र पपुलेसन पढीरहेकी छिन् । अहिले उनी लामो समयदेखि ताप्लेजुङ जिल्ला अस्पतालमा सिनियर अनमीको पोष्टमा कार्यरत छिन्।

दुर्गममा काम गर्दाको अनुभव
उनले केही वर्ष पहिले ताप्लेजुङको दुर्गम भेगमा पर्ने इखाबु भन्ने ठाउँको स्वास्थ्य चौकीमा काम गरेकी थिइन्। त्यहाँ काम गर्दाको धेरै मिश्रित अनुभव छ उनी सँग। ‘गाउँमा त्यो समयमा नर्स भनेको डाक्टर सरह नै हुने गर्थ्यो। गाउँमा हिँडेर काम गर्न, जनचेतना फैलाउन एकदमै रमाइलो हुन्थ्यो। राम्रो गर्दा एकदमै माया पाइन्थ्यो भने अलिकति केही बिग्रियो, केही घटना भयो भने ढुंगामुढा सहित लखेट्ने गर्थे। तर जे भए पनि बिरामीको सेवा गर्न पाइन्थ्यो,’ उनले भनिन्।

उनी ताप्लेजुङ जिल्ला अस्पतालमा काम गर्दै गर्दा त्यहीँ जन्मिएका बच्चाहरू ठूला भइसके। कहिलेकाहीँ त्यी बच्चाहरूलाई लिएर अस्पताल आउँदा तिनका अभिभावकहरू उनलाई भेट्न आउँछन्। लगभग सात वर्षअघिको कुरा हो उनी कार्यरत अस्पतालमा ४० हप्ता पुगिसकेको गर्भवतीको डेलिभरीको केस आयो। पेटको बच्चाको राम्रोसँग वृद्धि समेत भएको थिएन। झन् त्यहीमाथि बच्चा उल्टो थियो। आमाको अवस्था पनि निकै नाजुक थियो। जसरीतसरी बच्चालाई पेटबाट त निकालियो तर बच्चाको सास चलेको थिएन।

डाक्टरले उनीतिर हेरेर भने, ‘बच्चाको त सास चलेको छैन।’ त्यो बच्चा उनको आफन्तको थियो। उनले त्यो बच्चालाई हातमा लिइन् र सामान्य रुपमा छातीमा छोएर आमालाई यति दुख दिएर छोडेर जाने भनि नसक्दै बच्चाले लामो सास फेर्यो। कुनै फिल्मको कथा झैँ लाग्ने उक्त घटनालाई उनी सम्झिन्छिन्, ‘सुत्केरी मेरो आफन्त पनि थिइन्। मैले त्यो बच्चा समातेर, आमालाई यति दुख दिएर यो संसार छाडेर जाने भनेर यसो छातीमा छोएको थिएँ। बच्चाले सास फेर्‍यो। त्यो अद्भुत पल थियो। अहिले उक्त बच्चा ७ वर्षको भएको छ।’

उनलाई नर्सिङ पेसामा जे जस्तो अवस्था भए पनि छोडौँ या नगरौँ भन्ने कहिल्यै हुँदैन। बाचुन्जेल बिरामीहरूको सेवा गर्छु भन्ने लाग्छ। ‘अप्ठ्यारो त जुन पेसामा पनि हुन्छ नि अप्ठ्यारोसँग त लड्ने हो। डराउने होइन,’ उनी भन्छिन्।

उनलाई सधैँ हरेक तह तप्काका दुखी र असहायहरूको अप्ठेरो, असहजतामा मल्हम लगाउने जुनुन् छ। नर्सिङ पेसामा रहेर उनले हजारौँका घाउ, रोगहरू निको परिन अब उनी राजनीतिमा लगेर समाज र राष्ट्रलाई निरोगी बनाउन चाहन्छिन्।