आइतबार, बैशाख ०६, २०८३

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई एक–एक लाख दिने बागमती प्रदेशकाे निर्णय

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई बागमती प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १–१ लाख दिने निर्णय गरेको हाे । प्रदेशमा जंगली हात्तीको आक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

एम गज नामक जंगली हात्ती आक्रमणको कारण ८ फागुनमा मकवानपुरको मनहरी–४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी, १२ फागुनमा बकैया–५ पावसका ५० वर्षका सन्तलाल माझीको मृत्यु भएको थियो । यसैगरी, मकुन्ना नामक जंगली हात्ती आक्रमणको कारण १३ फागुनमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४० वर्षीय दण्डपाणी पौडेलको मृत्यु भएको थियो ।