बिहिबार, बैशाख ०३, २०८३

एमाले विकासको योजना सहित जनताको पक्षमा काम गर्ने पार्टी : माधव ढुङ्गेल

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य माधव ढुङ्गेलले नेपाल र नेपालीलाई कसरी धनी बनाउन सकिन्छ भन्ने मुख्य ध्येय नेकपा एमालेको रहेको बताउनु भएको छ ।
शनिबार दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वारामा एमालेले आयोजना गरेको चुनावी भेटघाट तथा कोण सभामा बोल्दै ढुङ्गेलले हरेक जनताले कसरी पैसा कमाउने बनाउन सकिन्छ भन्ने चिन्तन गर्ने पार्टी एमाले भएको बताउनुभयो ।
हरेक नेपालीलाई उनीहरुको परिश्रमबाट कसरी पैसा कमाउने बनाउन सकिन्छ भन्ने योजना एमालेले बनाउने उहाँले प्रष्ट पार्नुभयो । ‘नेकपा एमाले विकासको योजना बनाउने पार्टी हो’, ढुङ्गेलले भन्नुभयो ।
एमाले सडक सञ्जालबाट सबै जनतालाई जोड्नु पर्छ भन्ने मान्यता राख्ने पार्टी भएको ढुङ्गेलले बताउनुभयो । एमाले जडीबुटी, कृषि लगायतको क्षेत्रबाट युवालाई कसरी रोजगार बनाउन सकिन्छ भन्ने चिन्तन राख्ने पार्टी भएको उहाँको भनाइ छ । ‘पानी र जलाधारको क्षेत्रबाट हुने आर्थिक विकास के हो, शिक्षा र स्वस्थलाई कसरी प्रभाकारी बनाउन सकिन्छ, युवालाई कसरी गाउँमा नै राख्न सकिन्छ भन्ने योजना बनाउने र सो अनुसार काम गर्ने पार्टी एमाले हो’, ढुङ्गेलले भन्नुभयो ।

समाजमा पछाडि पारिएका सबै समुदायलाई सबैभन्दा बढी माया गर्ने पार्टी एमाले भएको ढुङ्गेलले दाबी गर्नुभयो । एमालेले सुरु गरेको सामाजिक सुरक्षा भत्तालाई एमाले सरकार बन्ने बित्तिकै पहिलो बजेटबाट ५ हजार रुपैँया पुर्‍याउने उहाँले बताउनुभयो ।
दिगो विकास योजनाको सपना देख्ने, योजना बनाउने र कार्यान्वयन गर्ने पार्टी एमाले भएको उहाँले बताउनुभयो । नेपालको झण्डा राखेर समुन्द्रमा पानी जहाज चलाउने सपना एमाले अध्यक्ष केपी ओलीले देखेर काम सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा एमालेले पारवहन सन्धि गरेको उहाँले सुनाउदै अब नेपाल कहिल्यै पनि भारतको नाकाबन्दीमा नपर्ने उहाँले प्रष्ट पार्नुभयो ।

सूर्य चिन्हमा भोट हाल्दा केपी ओली प्रधानमन्त्री बन्ने र अन्य चिन्हमा भोट हाल्दा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उहाँले प्रष्ट पार्नुभयो । विचार नमिल्ने दुई ध्रुवले देशमा सुख र समृद्धि दिन नसक्ने उहाँले बताउनुभयो ।