बिहिबार, बैशाख ०६, २०८१

मल्लिकार्जुन खड्गे भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष निर्वाचित

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार ८० वर्षीय खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी शशि थरूरले १०७२ मत मत ल्याएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थरूरले हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिएका छन् ।

खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन् ।

उनले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्। पार्टीका संरचनामा ५० मानिस ५० वर्षमुनिका राख्ने उनको योजना छ । कर्नाटकाका खड्गे दलित समुदायका हुन्। उनको राजनीतिक जीवन निकै लामो छ।

अहिले उनी भारतको माथिल्लो सदन राज्य सभाका सदस्य छन् । सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन् । गान्धी परिवारको विशेष पकड रहेको कंग्रेसमा उनी लगातार २०१७ सम्म अध्यक्ष भइन्।

त्यसपछि उनका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिए । सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कंग्रेसले सन् २०१९ को आम चुनाव पनि हारेपछि राहुलले राजीनामा दिएका थिए । राहुलले राजीनामा दिएपछि सोनिया फेरि कंग्रेसकी अध्यक्ष बनेकी थिइन्।