टोकियो । जापानको एक ग्रुप कम्पनीले नेपालको ग्रामीण क्षेत्रमा विद्यालय निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
जापानको निचिनोउकेन कान्तोउ ग्रूप कम्पनीले स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा नेपालको ग्रामीण विकट क्षेत्रमा विद्यालय निर्माण गर्ने उद्देश्यले नेपाली राजदूतावास जापानसँग समन्वय भएको छ।
मंगलवार नेपाली दूतावासमा विद्यालय बनाउने बारे निचिनोउकेन कान्तोउ ग्रूपका अध्यक्ष कोजिमा र राजदूत डा. दुर्गाबहादुर सुवेदी बीच समन्वयत्मक छलफल भएको छ ।
यसअघि पनि नेपाल, भियतनाम, मंगोलिया लगाएत विपन्न देशहरुमा उक्त कम्पनीले सामाजिक कार्य गरेको र आफूलाई सेवा गर्न पाउँदा आनन्द हुने उक्त ग्रूप कम्पनीका अध्यक्ष ईसामु कोजिमाले बताउनु भयो।
रोटरी क्लब अफ योकोहामा हिरोसिकाका अध्यक्ष समेत रहनु भएका कोजिमाले सामाजिक दायित्व अन्तरगतको कार्य गर्ने शिलशिलामा यस पटक नेपालमा १ करोडभन्दा बढी जापानी येन धनराशी सहयोग गर्ने घोषणा गर्नु भएका कम्पनीका अध्यक्ष कोजिमालाई राजदूत डा. सुवेदीले विशेष धन्यवाद दिनु हुँदै समन्वयको लागि दूतावासले भूमिका खेल्ने विश्वास दिलाउनु भयो।
भेटमा राजदूत डा. सुवेदीले एक करोड भन्दा बढी बजेटमा नेपालको स्थानीयको श्रमदान पनि लिएर ३ वटा विद्यालय बनाउन आग्रह गर्नु हुँदै अर्कों चरणको छलफल गर्ने र दूतावासबाट आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो।
उक्त भेटमा निचिनोउकेन कान्तोउ ग्रूपका अध्यक्ष ईसामु कोजिमा, राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी, कम्पनीका महाप्रबन्धक मनिश श्रेष्ठ र समन्वय भूमिका पत्रकार महासंघ जापानका सचिब शान्त पहरीले गर्नु भएको थियो ।