बिहिबार, असार ०४, २०८३

युक्रेनमा स्वतन्त्रता दिवसको दिन रुसी आक्रमण, २२ जनाको मृत्यु

युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो । पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ ।

आक्रमणमा परी ११ वर्षीय बालकको पनि मृत्यु भएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए। आक्रमणमा परी ५० जना घाइते भएको उनले बताए । यस विषयमा रुसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

उसले पटकपटक आफूहरूले नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ । जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताए ।

गत अप्रिलमा फरक रेल स्टेसनमा भएको आक्रमणमा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । युक्रेनले बुधबार आफ्नो स्वतन्त्रता दिवस मनाएको छ र जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पुर्याउन क्रुर कार्य गर्न सक्ने बताएका थिए।