शुक्रबार, बैशाख ०७, २०८१

मङ्कीपक्सका कारण डब्ल्यूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वका ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको बीबीसीले उल्लेख गरेको छ ।

यस भाइरसबारे डब्ल्यूएचओको आपतकालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६ हजार भन्दा धेरै सङ्क्रमितहरू पुष्टि भएको जनाएका छन् । उनले मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताएका छन् ।

मङ्कीपक्सबाहेक हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपतकाल लागु छन् । डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन ।

तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताए । उनले सङ्क्रमणको नयाँ माध्यमबारे निकै कम कुराहरू स्पष्ट भएको बताए । मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ ।

तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन् । केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन् । तर यसबारे डब्ल्यूएचओको प्रतिक्रिया जान्न केही समय प्रतीक्षा गर्नुपर्छ । मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ ।

बेलायत सरकारले यो रोग थप फैलिन नदिने उद्देश्यले आवश्यक परे प्रयोग गर्नका लागि बिफरविरुद्धको खोप किनेर राखेको छ । मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ ।

सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ। लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन ।