स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ ।देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन।
यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ ।स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्ममा १५० जनाको ज्यान गएको जनाएको छ ।
त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । गर्मीका कारण ज्यान गुमाउने अकिांशमा ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन् ।
गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ ।
लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ । चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले जनाएको छ ।
सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो । इजीजेट र रायनएयरलगायतका एयरलाइन्सले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थलले गर्मीका कारण उडान स्थगित भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।
लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।
बन्दका कारण केही विद्यालय बन्द गरिएका छन् । यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ ।

