बिहिबार, असार ०४, २०८३

श्रीलङ्का पूर्व प्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध,सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने

श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो ।

यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उहाँहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ । अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ ।

अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक सङ्कट उत्पन्न हुनुमा जिम्मेबार रहेको लगायतका आरोप लगाउदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि आम नागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य हुनु परेको थियो । त्यही प्रदर्शन चर्किदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले पनि राजीनामा दिएर देश छाडेका थिए । यसैगरी, सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ ।

वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी जुलाई २० मा निर्वाचन हुन लागेको छ ।

सत्तारुढ दल श्रीलङ्का पोडुजाना पेरामुना एसएलपीपीका महासचिव सागरा कारियावासामले विक्रमासिङ्घेलाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने सम्भावना रहेको पुष्टि गरे । उनलाई उम्मेदवार बनाएर सबैको समर्थन जुटाउने प्रयास भइरहेको पनि कारियावासामले जानकारी दिए ।

सभामुख महिन्दा यापा अबेवार्डेनाले जुलाई २० मा निर्वाचन गर्ने घोषणा शुक्रबार गरेका थिए । प्रधानमन्त्री विक्रमासिङ्घेलाई पनि शुक्रबार नै अन्तरिम राष्ट्रपतिको रुपमा सपथ खुवाइएको छ । उनले अर्को राष्ट्रपति निर्वाचित नहुँदासम्म मात्रै जिम्मेवारी निर्वाह गर्नेछन् । योसँगै उनले राष्ट्रपति र प्रधानमन्त्रीको दुवै जिम्मेबारी पाएका छन्। आर्थिक सङ्कटका कारण सुरु भएको आन्दोलनले राजनीतिक परिवर्तन र सङ्कट उत्पन्न गराएको छ ।