बिहिबार, असार ०४, २०८३

समस्याग्रस्त अर्थतन्त्रमा खतराको घण्टी !औषधिको मूल्य आकासियो, झन् बढ्दै अभाव

चरम आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्का बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ ।

श्रीलङ्काको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भए पनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र होइन भेनेजुएलादेखि गिनिसम्मका देश अग्रसर हुन लागेका प्रतीत भएको छ । केही देशमा रूस–युक्रेन युद्धले समस्या थप चर्काएको छ । इन्धनसहित आकासिदो उपभोग्य सामग्रीको मूल्यले श्रीलङ्काको नियति भोग्नुपर्ने परिस्थिति कमजोर अर्थतन्त्र भएका देशमा पनि उत्पन्न हुने चेतावनी ग्लोबल क्राइसिस ग्रुपले दिएको छ ।

गरिब देशहरूमा बढ्दो आर्थिक तनावले जनतालाई उत्तेजित पार्दै उनीहरूलाई सडकमा ल्याएको छ भने कोरोना महामारीविरुद्धको लडाइँमा जुट्न लिइएका सहायता रकम, उच्च ब्याजसहितका ऋण, विदेशीसँग लिएका ऋणको आवधिक भुक्तानीका दायित्वले उनीहरूलाई अझ प्रभावित पारेको छ । विश्वका आधाभन्दा बढी मुलुक ऋण चुक्ता गर्न सङ्घर्षरत छन्भने गरिब देशहरू ऋण सङ्कटबाट मुक्त हुनसक्नेक अवस्था छैन ।

अतिकमजोर अर्थतन्त्र भएका देशहरू महामारीभन्दा अघिदेखि महारोगका रूमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र दैवी विपत्तिबाट थप बिथोलिएका वास्तविकता क्राइसिस ग्रुपले औँल्याएको छ । अफगानिस्तान, पाकिस्तान, अर्जेन्टिना, इजिप्ट, लाओस, लेबनान, म्यान्मा, टर्की, जिम्बाम्बेलगायत देशको अर्थतन्त्र जोखिममा रहेको ग्रुपको ठहर छ ।

आर्थिक सङ्कट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ । सरकारी मेडिकल अफिसर्स एसोसिएसन ९जीएमओए० ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले वृद्धि भएको र नागरिकलाई ती उपकरण खरिद गर्न कठिन भएको डेली मिरर पत्रिकाले जनाएको छ ।

जीएमओए सञ्चार समितिका सदस्य डा। प्रसाद कोलाबेजले बजारमा केही औषधिहरूको अभाव देखिएपछि औषधी किन्न अस्पताल पुग्ने नागरिकहरूको भीड देखिन थालेको छ ।कोलाबेजले भन्नुभयो, “पहिले निजी फार्मेसीबाट औषधि खरिद गर्ने अधिकांश मानिस सरकारी अस्पतालमा पुग्ने गरेका छन् । उनीहरूले अस्पतालमा पुग्न यातायातका साधन नपाएर कठिनाइहरूको पनि सामना गरिरहेका पाइएकोे छ ।

औषधि दिने अस्पतालहरु सीमित भएको भन्नु पर्ने अवस्था आउनु दुर्भाग्य हो ।”“यसअघि अस्पतालले एक महिनादेखि बिरामीका लागि पर्याप्त मात्रामा औषधि दिने गरेको थियो । तर, यसलाई घटाएर पछि दुई सातामा मात्रै सीमित गरिएको थियो । औषधि व्यवस्थापनमामिला हेर्ने निकायले त्यसलाई पनि घटाएर एक हप्ताका लागि मात्र दिन सकिने भएको छ । अहिले यो एक हप्तासम्म सीमित छ ।”

स्थानीय सञ्चारमाध्यमका अनुसार डलरको सङ्कटसँगै देखिएको आर्थिक सङ्कटका कारण धेरै औषधि तथा मेडिकल आयातकर्ताले औषधि आयात गर्न छाडेका छन् । डलर अभाव र आर्थिक सङ्कटका कारण कतिपय आयातकर्ताले औषधि आयात गर्न पूर्णतया बन्द गरेका कारण मुलुकको चिकित्सा क्षेत्र पनि प्रभावित बनेको हो ।

विशेष गरी, श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक संकटको सामना गर्दै आएको छ । यसले गर्दा राष्ट्रभरि खाद्य, औषधि, खाना पकाउने ग्याँस र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।

विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चारमाध्यमहरूले जनाएको भएपनि सरकारले नै देश टाट पल्टेको घोषणा अप्रिलमा गरेको थियो । श्रीलङ्काको कुल वैदेशिक ऋणमध्ये सन् २०२६ सम्ममा करिब २५ अर्ब अमेरिकी डलर चुक्ता गर्नुपर्ने शर्तको पालना गर्दै देशले यस बर्ष करिब सात अर्ब अमेरिकी डलर वैदेशिक ऋण चुक्ता गरिरहेको छ । आर्थिक संकटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवाको पहुँचमा असर पारेको छ ।