बिहिबार, असार ०४, २०८३

राष्ट्रपति जेलेन्सकीलाई भेट्न युरोपेली नेताहरूको खतरनाक रेल यात्रा

रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ । मंगलबार साँझ किएभमा कर्फ्यु लागू रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरेका थिए ।

उनीहरुले जेलेन्स्कीको साहसी लडाइँको प्रशंसा गरेका छन् । पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरेका छन् । मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुन् ।

किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको थियो । युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली सङ्घको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताए।