बिहिबार, असार ०४, २०८३

युक्रेनमा मानवीय सङ्कट गहिरिँदै,उडानमा प्रतिबन्धले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने अमेरिकी चेतावनी

युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ। रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ।

गोलाबारीमा सर्वसाधारण मारिने क्रम बढ्दो छ। आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेका केही मानिसहरू मारिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्ता आक्रमणका लागि कहिल्यै क्षमा दिन नसिकने बताएका छन्।

भीषण गोलाबारी
राष्ट्रपतिका एक सल्लाहकारका अनुसार आइतवार अबेर राति रुसी फौजले राजधानी किएभको बाहिरी भेगका साथै मारिऊपोल र दोस्रो ठूलो शहर खार्किभका आवासीय क्षेत्रहरूमाथि भीषण गोलाबारी गरेका छन्।

यसैबीच युक्रेनी राष्ट्रपतिले रुसका लागि नो फ्लाई जोन अर्थात्‌ हवाई उडानमा प्रतिबन्ध लगाउन आग्रह गरिरहँदा त्यसलाई लिएर अमेरिकी राजनीतिज्ञहरूबीच मतभेद देखिएको छ। कजना अमेरिकी सिनेटरले उक्त कदमले ठूलो खतरा निम्त्याउन सक्ने जोखिम औँल्याएका छन्।

सिनेटको गुप्तचर समितिमा रहेका उच्च तहका रिपब्लिकन सिनेटर मार्को रुबिओले नो फ्लाई जोनको अर्थ तेस्रो विश्वयुद्धको शुरूवातू हुने सीएनएन टेलिभिजनसँग भने। नो फ्लाई जोन के हो भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ। त्यो यस्तो नियम होइन जसलाई सबैले मान्नैपर्छ। त्यसको अर्थ रुसका विमानहरूलाई खसाल्नुहुनेछ, उनले थपे।

रुसबाट तेल आयातलाई जारी राख्नुको कुनै तुक आफूले नदेखिएको भन्दै सिनेटर रुबिओले रुसले उक्त आम्दानीको खर्च युक्रेन युद्धमा गरिरहेको टिप्पणी गरे। तर वेस्ट भर्जिनियाका डेमोक्र्याट सिनेटर जो म्यानचिनले चाहिँ नो फ्लाई जोनको विचारलाई अस्वीकार गर्न नसकिने एनबीसीलाई बताए। वार्ताको टेबुलमा म कुनै विषय छोड्दिनँ, उनले थपे।