बिहिबार, बैशाख १०, २०८३

एनआरएनए जापानमा पुनः निर्वाचन असम्भव,सबै पक्ष मिल्नुको विकल्प छैन : कोषाध्यक्ष श्रेष्ठ

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठले तत्कालीन समयमा एनआरएनए जापानको पुनः निर्वाचन असम्भव हुने बताएका छन् ।

सबै पक्षको सहमतिमा भएको बताउँदै १७ सय विवादित भनिएको इमेल सबै पक्षको सहमतिमा समय दिएर सच्याउन लगाएर भएको बताउंदै श्रेष्ठले हालको अवस्थामा सबै पक्ष मिलेर जानुको विकल्प नरहेकाले एनआरएन जापानमा पुनः निर्वाचन असम्भव रहेको धारणा राखे । राष्ट्रिय समन्वय परिषद जापानको आयोजना र एनआरएनए जापान, चिबा क्षेत्रीय कार्यसमितिको ब्यबस्थापनमा आयोजित प्रथम क्षेत्रिय भेला कार्यक्रम भव्यपमा सम्पन्न भएको छ ।

मार्च ५ तारिख आयोजित क्षेत्रिय भेला अघी ४ तारिख साँझ आयोजकले बिभिन्न क्षेत्रबाट सहभागि प्रतिनिधिहरुको स्वागतार्थ चिवा स्थित इचिकावा ग्रान्ड होटलमा रात्रीभोजको आयोजना गरेको थियो । रात्रीभोजमा एनआरएनए अभियन्ताहरु सहित दर्जन बढी संघसस्थाका प्रतिनिधि र बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने करिव एक सयजनाको सहभागिता रहेको थियो

क्षेत्रिय भेलामा उपस्थित सबैलाई स्वागत मन्तव्य एनआरएनए जापानका वरिष्ठउपाध्यक्ष नबिन न्युरेले राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष महेश श्रेष्ठ, एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेल, एनआरएनए जापानका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक ओम गुरुङ पूर्व अध्यक्ष देबिलाल भण्डारी, एनआरएन अभियन्ता तथा व्यवसायि ददिवल खड्का, आईसिसी सदस्य छात्रब्रृत्ती उपलब्ध गराउँदै आएको सस्थाका अध्यक्ष योशिहारु कोमियामा लगायत दर्जनौं व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेलले एनआरएनए जापानको वर्तमान कार्यसमितिलाई अघि बढ्न १२ वटै क्षेत्रीय समितिले गरिरहेको काम र प्रयासको प्रशंसा गरेका थिए । पौडेलले भविष्यमा १२ वटै क्षेत्रमा गर्न लागिएको रक्तदान कार्यक्रम, विद्यार्थी सेमिनार, नेपाल फेस्टिबल लगायत कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए ।

निर्वाचित वर्तमान कार्यसमितिलाई अमान्य भएको जिकिर गर्ने केही व्यक्तीहरुलाई त्यस्तो बाल हठ त्यागेर सम्पूर्ण जापानबासी नेपालीहरूको अभिमतको कदर गर्न समेत अध्यक्ष पौडेलले आग्रह गरे । कार्यक्रममा एनआरएनए जापानको १२ वटै क्षेत्रका संयोजकहरुले कार्यप्रगती विवरण, आर्थिक प्रतिबेदन र भाबी कार्यक्रमको योजना प्रस्तुत गरिएको थियो । भेलामा करिव २५० जनाको सहभागिता रहेको प्रवक्ता सुभास लामिछानेले जानकारी दिए ।