बिहिबार, बैशाख १०, २०८३

जापानबाट ई-पासपोर्टको प्रक्रिया शुरू, बुकिङ खुला, (प्रक्रियासहित)

टोकियो । जापानको टोकियोस्थित नेपाली दूतावासले जापानबाट नै विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रक्रिया शुरू गरी बुकिङ खुला गरेको छ ।

शुक्रबार जापानको दूतावासबाट ई-पासपोर्ट उत्पादनको सफल परीक्षण गरी बुकिङ खुला गरेको हो । टोकियोस्थित दूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई-पासपोर्ट सफलतापूर्वक उत्पादन भएसँगै जापानबाटै नेपालीले राहदानी पाइने भएको दूतावासका सचिब जीत बहादुर कार्कीले जानकारी दिनुभयो । दूतावासले ई-पासपोर्टका लागि शुक्रबारदेखि नै बुकिङ खुला भएको जनाएको छ ।

विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानी जारी गर्ने प्रक्रियाका बारेमा जानकारी गराउँदै नियोगहरूलाई आवश्यक निर्देशन समेत दिएका थिए । प्रि-इनरोलमेन्टका लागि राहदानी विभाग वा राजदूतावासको वेभसाइटमा राखिएको लिङ्कमा गई विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ ।

विद्युतीय राहदानी शुरु भएको प्रारम्भिक चरणमा केही दिनका लागि सीमित बुकिङ मात्र खुला गरिएको दूतावासले जनाएको छ । उक्त अवधिभर हालको राहदानी हराएका, राहदानी र भिसाको बहाल अवधि समाप्त भएका वा तीन महिनासम्मको अवधि बाँकी रहेका व्यक्तिले प्रि-इनरोलमेन्ट गरी समय बुकिङ गरेर लाइभ इनरोलमेन्टका लागि राजदूतावासमा आउन आग्रह गरिएको छ ।

यस्तो छ विद्युतीय राहदानी (ई-पासपोर्ट) फाईदा

नेपाल सरकारले नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) गत मंसिर पहिलो हप्ताबाट जारी गरेको थियो ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले संस्कृति सत्य नारायण जोशीलाई पहिलो विद्युतीय राहदानी वितरण गरेका थीए । ई-पासपोर्टको अनलाइन बुकिङका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । पासपाेर्टकाे कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ ।

विभागले सात प्रकारका पासपाेर्ट जारी गरेकाे छ । यसअन्तर्गत कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत (३४ र ६६ पृष्ठ) र सर्भिस पासपोर्ट रहेका छन् । विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र जडान गरिएको डिजिटल चिप्समा राहदानी बाहकको सबै विवरण सुरक्षित हुन्छ ।

थप जानकारीको लागि दूतावासको फेसबुक लिंक : https://www.facebook.com/Embassy-of-Nepal-in-Tokyo-Japan-%E5%9C%A8%E6%97%A5%E3%83%8D%E3%83%91%E3%83%BC%E3%83%AB%E5%9B%BD%E5%A4%A7%E4%BD%BF%E9%A4%A8-213951378952957/