बिहिबार, असार ०४, २०८३

भारत सरकारद्वारा मदर टेरेसाको संस्थालाई विदेशी सहयोग लिन रोक

भारतमा मदर टेरेसाले स्थापना गरेको परोपकारी संस्थाले विदेशबाट आर्थिक सहयोग लिन पाउने अनुमति नवीकरण गर्न भारत सरकारले अस्वीकार गरिदिएको छ । भारतमा मिशनरीज अप च्यारिटीसँग हजारौँ इसाई ननहरू आबद्ध छन् । उनीहरू टुहुरा बालबालिकाका लागि सञ्चालित आश्रयस्थल, विद्यालय, क्लिनिक र हस्पिसको रेखदेखमा खट्छन् ।

भारतको गृह मन्त्रालयले केही प्रतिकूल निवेशबारे पत्ता लागेकाले मिशनरीज अफ च्यारिटीको दर्ता नवीकरण अस्वीकार गरिएको जनाएको छ । चरमपन्थी हिन्दूहरूले उक्त संस्थाले आफ्ना कार्यक्रमहरूको आडमा धर्मप्रचार गर्न तथा मानिसहरूलाई धर्म परिवर्तन गराएर इसाई बनाउन खोजेको आरोप लगाउने गरेका छन् । तर मिशनरीज अफ च्यारिटीले त्यस्ता आरोपको खण्डन गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरी उसले संस्था नवीकरणको आफ्नो आवदेन अस्वीकृत भएको पुष्टि गर्दै यो विषय टुङ्गोमा नपुगुन्जेलसम्म आफूले कुनै विदेशी खाता नचलाउने बताएको छ । यसअघि पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले सरकारले च्यारिटीका बैंक खाता रोक्का गरिदिएको भन्दै ट्वीट लेखेपछि उनको आलोचना भएको थियो ।

ममता बनर्जीले च्यारिटीलाई रोक लगाउँदा २२ हजार बिरामी तथा कर्मचारीले खाना तथा औषधि नपाउने टिप्पणी गरेकी थिइन् । बीबीसी हिन्दीले मिशनरी अफ च्यारिटीले ३४७ विदेशीबाट व्यक्तिगत र ५९ वटा संस्थाबाट ७५ करोड भारतीय रुपैयाँ दान लिएको जनाएको छ ।

संस्थाको खातामा गत वर्ष विदेशबाट प्राप्त २७.३ करोड रुपैयाँ बाँकी भएको र अहिले कुल १०३.७६ करोड रुपैयाँ भएको विवरण द हिन्दूले प्रकाशित गरेको छ ।

उनले कोलकातामा सन् १९५० मा कुष्ठरोगीहरूको सेवा गर्न मिशनरीज अफ च्यारिटी स्थापित गरेकी थिइन् । मदर टेरेसाले सन् १९७९ मा नोबेल पुरस्कार पाएकी थिइन्।