टोकियो । कोरोना भाइरसको महामारीको कारण आर्थिक समस्यामा परेका नागरिकहरुको लागि जापान सरकारले पुन: नगद अनुदान दिने अन्तिम तयारी गरेको छ ।
प्रधानमन्त्री फुमियो किशिदाले संसदीय निर्वाचन अघि गरेको बाचा अनुसार सत्ताधारी दलहरुले नगद अनुदान वितरण गर्ने विषयमा सहमती जनाएका छन् ।
सरकार र सत्ताधारी दलले नयाँ कोरोना भाइरसको फैलावटको कारण मारमा परेका जनतालाई सहयोग गर्ने उपायको रूपमा १८ वर्ष मुनिका बालबालिका र युवाहरूलाई एक लाख येन नगद उपलब्ध गराउने निर्णय गरेको छ । कुनै आय सीमा नभएकाहरुको लागि यस्तो नगद सहयोग गरिन लागेको हो ।
सरकारले यही नोभेम्वर १९ तारिख राख्ने आर्थिक उपायहरूमा यसलाई समावेश गरिने भएको छ । यसैगरि माइ नम्बर कार्ड भएका सबै नागरिकहरूलाई प्रति व्यक्ति ३९ हजार येन बराबरको दिने नीति ल्याउँदैछ । जुन अंक बराबरको मूल्यका सामान कार्डबाट किनमेल तथा भूक्तानी गर्न सकिन्छ ।
यस योजना अन्तर्गत करिब २ करोड मानिसले १ लाख येन नगद पाउने अपेक्षा गरिएको छ ।
बजेट करिब २ ट्रिलियन येन हुने अपेक्षा गरिएको छ । सरकारले अर्को वसन्त सम्म भुक्तानी गरिसक्ने लक्ष्य राखेको छ, जुन विद्यार्थीहरुको नयाँ भर्ना र अध्ययन सुभारम्भको समय हो ।
गत वर्षको अप्रिलमा आबे शिन्जोको कार्यकालमा नयाँ कोरोना विरुद्धको उपायको रूपमा सबै नागरिकहरूलाई समान १ लाख येन उपलब्ध गराईएको थियो ।

