बिहिबार, बैशाख १०, २०८३

जापानले विद्यार्थी,व्यवसायी लगायत भिषामा प्रवेश खुलाउने तयारी

टोकियो । जापानले विद्यार्थी, व्यवसायी लगायत भिषामा प्रवेश खुलाउने तयारी गरेको छ । जापानले आफ्नो कडा कोरोना भाइरस सम्बन्धि प्रवेश नियमहरू सहज बनाउँदै विदेशीहरूलाई प्रवेश खुलाउने तयारी गरेको हो ।
जसमा छोटो व्यापार यात्रा, अन्तर्राष्ट्रिय विद्यार्थी र प्राविधिक प्रशिक्षणको लागि आउने विदेशीहरुको लागि प्रवेश खुलाउन लागेको छ ।

पहिलो चरणमा पर्यटकहरूलाई प्रवेश दिने विषय समावेश गरिएको छैन । सरकारले यही साताभित्र नीतिगत परिवर्तन घोषणा गर्ने र कार्यान्वयन यसै महिनाबाट सुरु गर्ने अपेक्षा गरिएको छ ।

कोरोना संक्रमण घटने दर उल्लेख्य सुधार भएसँगै, जापानले विदेशीहरूमाथिको प्रवेश प्रतिबन्धलाई क्रमश खुकुलो बनाउने लक्ष्य राखेको छ ।

छोटो अवधिका व्यवसायिक यात्रुहरूका लागि क्वारेन्टाइन आवश्यकता अब १० दिनबाट खोप लगाइएका आगन्तुकहरूका लागि तीन दिनसम्म घटाइनेछ । विदेशी नागरिकलाई भ्रमणमा बोलाउने कम्पनी र संस्थाहरूले उनीहरूको गतिविधिको अनुगमन गर्न आवश्यक हुनेछ । छोटो क्वारेन्टाइन आवश्यकता विदेश भ्रमणबाट फर्केका जापानी नागरिकहरूमा पनि लागू हुनेछ ।

अक्टोबर १ सम्म, कडा सीमा नियन्त्रणका कारण लगभग ३ लाख ७० हजार विदेशी विद्यार्थीहरू जापान आउन असमर्थ भएर रोकिएका छन् । जसमध्ये लगभग ७० प्रतिशत प्राविधिक इन्टर्न र विदेशी विद्यार्थीहरू थिए । कृषि, वन र मत्स्यपालन क्षेत्रहरू जसले श्रमिक अभाव झेलिरहेका छन् र विदेशी विद्यार्थीहरूलाई स्वीकार गर्दै आएका विद्यालयहरूले नयाँ आगमनलाई अनुमति दिन निरन्तर आह्वान गरेका छन् ।

सहज नियमहरू नयाँ आगन्तुकहरू सबैमा लागू हुनेछ ।
कम्पनीहरू, विद्यालयहरू वा अन्य रोजगारदाता संस्थाहरूले नवआगन्तुकहरुको संक्रमण नियन्त्रण उपायहरूको बारेमा सम्बन्धित सरकारी निकायमा जानकारी गराउनु पर्नेछ ।