बिहिबार, बैशाख १०, २०८३

सामाजिक योगदान पुर्याए बापत एनआरएनए कान्साइलाई जापानी सरकारी निकायबाट सम्मान

जापान । ताइफुको कारण समस्यामा रहेका आफ्ना नागरिकलाई एनआरएनए कान्साइ क्षेत्रले आधारभूत आवश्यकता अन्तर्गतको नेपाली खाना खुवाएर महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

बिहिबार सुजाका सी का मेयरले ताइफुको कारण समस्यामा रहेका आफ़ना नागरिकलाई एनआरएनए कान्साइ क्षेत्रले नेपाली खाना खुवाएर महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रद्वारा सम्मान गरेको हो ।
एनआरएनए क्षेत्रीय समिति कान्साईले २०१९ अक्टोबरको २१ तारिख नागानो प्रान्तको सुजाका सि मा भएको ताइफुबाट प्रभावित २०० बढी त्यहाका नागरिकलाई नेपाली स्वादको खाना उपलब्ध गराएको थियो ।

एनआरएनए कान्साईले नेपालीलाई परेका समस्याको समाधानको लागि र सेवामूलक सूचना र जानकारी दिने काममा दिनरात नभनि खटि नै रहेको थियो । “कर्म गर फलको आशा नगर” भन्ने मान्यताका साथ आफ्नो कार्यमा तल्लिन एनआरएनए कान्साइलाई त्यो ताइफुमा गरेको सहयोगका लागि गरेको सम्मानबाट आफूहरुलाई अझै उत्साहित बनाएको संयोजक दिलिप शर्माले बताए ।

सो क्षेत्रमा गत अक्टोबर २१ मा ताइफुद्वारा ठूलो क्षति पुर्याएको थियो । सो क्षेत्रका जापानी नागरिकको दुःखमा एकाकार भै सक्दो सहयोग गर्नका लागि एनआरएनए कान्साइका वर्तमान उप समयोजक विष्णुप्रसाद सापकोटाको नेतृत्वमा वर्तमान संयोजक दिलिप शर्मा एनआरएनए जापानका केन्द्रीय सदस्य दिलिप कंडेल गलकोट समाज जापानका सल्लाहकार जगत थापा, रामचन्द्र गैरे, रामचन्द्र काफले लगायतको सहभागितामा ताइफुबाट प्रभावित र पिडित परिवारलाई खाना खुवाईएको थियो ।

निवर्तमान संयोजक तथा वर्तमान एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण गैरेले सम्मान ग्रहण गर्दै ताइफुको मारमा परेका जापानी नागरिकलाई सहृदयीपूर्वक सहयोग कार्यमा ख़ट्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरे । यस्तै हरेक कार्यमा सहकार्य गर्नका लागि मेयरसँग आग्रह समेत गरे ।

सुजाका सी मा भएको प्राकृतिक प्रकोपमा नेपालीले जापानी नागरिकलाई आवश्यक सहयोग गर्दा नेपाली मन सहयोगी रहेको जापानी नागरिकको बुझाई हुन गई यात्री कार्यले दुई देशबिचको सम्बन्धमा सुमधुरता ल्याउन समेत सहयोग पुर्याउने एनआरएनए जापानका केन्द्रीय सदस्य कंडेलले बताए । उनले कान्साइ क्षेत्रीय समितिले नेपाली समुदायका साथै परेको बेलामा जापानी नागरिकलाई समेत सहयोग पुर्याऊदै आएकोले आगामी दिनमा पनि यस्तै कार्यलाई निरन्तरता दिनका लागि समेत अनुरोध गरे ।

जापानमा प्राकृतिक र आकस्मिक प्रकोपमा परेको बेला सूचना प्रवाहका साथै अत्यावश्यक सामग्री र स्वयम सेवामा योगदान गरेको भन्दै गुन्मा केनले नेपाली साझा समाज र महेश लुईटेललाई राष्ट्रिय अवार्डबाट सम्मानित गरिसकेको छ ।

गैरआवासीय नेपाली संघ प्रति नेपाली समुदायलाई चासो र चिन्तन जागरूप गराउदै जापानबासी नेपालीहरुमा सचेतनामूलक कार्यक्रम गर्नका लागि एनआरएनए क्षेत्रीय समिति कान्साईले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।