जापान । कोरोना भाईरस संक्रमण बढ्ने दर घट्दै गएपछी जापान सरकारले आन्तरिक पर्यटनको प्रवद्धर्न गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन यसअघि संचालन गरेको ‘गो टु ट्राभल’ अभियानलाई पुन: संचालन गर्न लागेको छ ।
नयाँ प्रधानमन्त्री फुमिओ किशिदा सरकारले ‘गो टु ट्राभल’ अभियानलाई पुन: संचालन गर्ने योजना बनाएको हो ।
जापानका नयाँ पर्यटन मन्त्रीले मंगलबार उनी सरकारको ‘गो टु ट्राभल’ सहुलियत कार्यक्रम कोरोना भाइरस महामारीको प्रकोपको कारण अवरुद्ध भएकोमा कहिले सुरु गर्ने भन्ने बारे बिचार गरिरहेको जानकारी गराएका छन् ।
‘हामी कोरोना संक्रमणको स्थितिका बारेमा विचार गर्नेछौं र कार्यक्रम कहिले सुचारु गर्ने भन्ने बारेमा विचार गर्नेछौं’ जापानका पर्यटन मन्त्री तेत्सुओ साईतोले भने ‘यो पर्यटन स्थलहरु र स्थानीय अर्थव्यवस्थाको रिकभरीको लागी एक महत्वपूर्ण कार्यक्रम हो ।
आफ्नो मन्त्री पद सम्हालेको एक दिन पछि, साईतोले भने कि उनलाई नयाँ प्रधानमन्त्री फुमिओ किशिदाले भाइरस विरोधी उपायहरु कायम राखी बिग्रिएको पर्यटन क्षेत्रलाई सहयोग गर्न निर्देशन दिएका छन् ।
साईतोले सरकारले २०३० सम्म जापानमा ६ करोड विदेशी आगन्तुकहरुलाई आकर्षित गर्ने आफ्नो लक्ष्य लाई कायम राख्ने बताएका छन् ।
गत बर्ष जुलाईमा सरकारले यात्रीहरुको खर्चको आधा सम्म सहुलियत दिनको लागी यात्रा अभियान शुरू गरेको थियो । तर कार्यक्रम कोरोना भाइरस संक्रमणमा उल्लेख्य बृद्धिपछि डिसेम्बरमा देशभरबाट हटाइएको थियो ।
यसअघि सरकारले ‘गो टु ट्राभल’ अभियानमा समग्रमा एक रातको प्रति व्यक्ति २०,००० येन र एक दिनको यात्राको लागी १०,००० येन छुटको कुपन उपलब्ध गराउँदै आएको थियो ।

