चीनद्वारा क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध घोषणा

चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध हुने घोषणा गरेको छ । योसँगै चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि प्रभावकारी प्रतिबन्ध लगाएको छ ।

पिपुल्स बैंक अफ चाइनाले भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि भएको बताएको हो । उसले त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ । चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलामध्ये एउटा बजार हो ।

त्यहाँ हुने घटबढले क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यमा असर पर्ने गरेको थियो । चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट आएको छ ।

आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत् विदेशी विनिमय जारी रहँदै आएको छ । बिटकोइनले कसरी काम गर्छ भन्ने सबैले बुझेका हुँदैनन् ।

यद्यपि यो वर्ष ठूलो कारबाही गरिएको छ । शुक्रवार केन्द्रीय बैंकले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको स्पष्ट सङ्केत गरेको बताइएको छ ।

अवैध आर्थिक गतिविधिमा संलग्नहरूले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने केन्द्रीय बैंकको घोषणाले स्पष्ट पारेको छ । क्रिप्टोकरेन्सीसम्बन्धी सेवाहरू चिनियाँ नागरिकहरूलाई उपलब्ध गराउने विदेशी वेबसाइटहरूको काम समेत अवैध भएको पनि चिनियाँ केन्द्रीय बैंकले भनेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: