बिहिबार, बैशाख १३, २०८१

जापानमा तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्टबाट जोगिन नेपाली दूतावासको अनुरोध

टोकियो । नेपाली राजदूतावास टोकियो, जापानले जापानमा तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको महामारीबाट जोगिनका अनुरोध गरेको छ ।

बिहीबार एक सुचना प्रकाशन गर्दै अनावश्यक भीडभाडबाट टाढा रहने, घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगायत सुरक्षा सतर्कताका सम्पूर्ण उपायहरूको पूर्ण पालना गर्नु गराउनु हुन सम्पूर्ण जापानवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राजदूतावासले अनुरोध गरेको छ ।
यसै सन्दर्भमा टोकियो र नागोया लगायतका स्थानहरूमा नेपाली नागरिकहरूबाट सञ्चालित केही रेष्टुरेन्टहरूमा नेपाली नागरिकहरू जमघट हुँदा मास्क नलगाउने, पेय पदार्थ सेवन गर्ने र नाचगान गर्ने जस्ता कार्यहरू भएको जानकारीमा आएको हुँदा त्यस्ता कार्यहरू नगर्नका लागि नेपाली समुदायलाई सजग गराइदिन जापानको परराष्ट्र मन्त्रालयबाट समेत अनुरोध भई आएको जनाइएको छ ।
त्यसैगरी कोभिड १९ बाट आफू जोगिन र अरुलाई पनि जोगाउनका लागि जापान सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पूर्ण पालना गर्नुहुनका लागि अनुरोध गरेको छ ।
दूतावासबाट सेवाग्राही एवं सेवा प्रदायक सबैको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै व्यक्ति स्वयं अनिवार्य उपस्थित हुनुपर्ने ( अधिकृत वारेशनामा एवं हस्ताक्षर प्रमाणीकरण ) बाहेकका अन्य सेवाहरू (पासपोर्ट, ट्राभल डकुमेन्ट, भिषा, ड्राइभिङ लाइसेन्स, विवाह सम्बन्धी काम लगायत अन्य कागजात प्रमाणीकरण सम्बन्धी कार्यहरू) हुलाक मार्फत् मात्र उपलब्ध हुने पनी जानकारीका लागि सुचना गरेको छ ।