महामारी नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको फाउचीको चेतावनी

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा। एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरियन्ट बढिरहेको बताएका हुन् । फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन् ।

उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउने खाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन् । खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस एउटा महामारी बनेको उनको भनाइ छ । अमेरिकामा हालसम्म त्यहाँको जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका आधिकारिक विवरणमा देखिन्छ ।

त्यहाँ गत अप्रिलदेखि खोप लगाउने दरमा कमी देखिएको छ । त्यसबेलासम्म कोरोनाभाइरसविरुद्ध खोप लगाउनेमा अमेरिका सबैभन्दा अगाडि थियो। विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ ।

यसैबेला अमेरिकामा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढेको छ । त्यहाँ मे र जुन महिनामा सङ्क्रमण निकै कम भएको थियो । बढी सङ्क्रामक डेल्टा भाइरसका कारण पनि सङ्क्रमण दर वृद्धि भएको बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: