कमरेड प्रचण्ड, तपाई यतिबेला यो देशको कार्यकारी पदमा विराजमान हुनुहुन्छ । म तपाईलाई आज सार्वजनिक पत्र लेख्दैछु । यस्तो सार्वजनिक पत्र मैले भण्डै १७ वर्ष पहिले लेख्नुपथ्र्यो । लेखिनँ ।
म लामो भूमिका नलेखी सिधै विषय प्रवेश गर्न चाहन्छु ।
तपाईलाई थाहा छ, माओवादीमा रमेश ढुंगेल नाम गरेको एकजना रामेछाप निवासी योद्धा हुनुहुन्थ्यो । तपाई महामन्त्री रहेको पूर्वमशालको विद्यार्थी संगठनबाट राजनीतिमा आवद्ध रमेश ०५१ सालको मध्यावधि निर्वाचनको सक्रिय बहिस्कारकर्ता हुनुहुन्थ्यो । ०५२ साल फागुन १ मा सुरु भएको जनयुद्धदेखि नै सक्रियतापूर्वक माओवादी आन्दोलनमा होमिएको व्यक्ति हो रमेश ढुंगेल ।
रामेछापको बेथानमा ०५३ साल पुस १९ गते भएको प्रहरी चौकी हमलामा घाँटी नजिकै गोली लागेर सख्त घाइते योद्धा पनि हो रमेश । उक्त मोर्चामा घाइते भएसँगै पार्टीले उहाँलाई जिउँदो ‘सहिद’ भनेको थियो ।
रामेछापकै खिम्तीस्थित नेपाल बैंक लिमिटेड ०५६ साल जेठमा कब्जा गर्दाको महत्वपूर्ण कमाण्डर पनि हो रमेश ढुंगेल । तत्कालीन सोलु ओखलढुंगा जिल्ला कमिटीको योजनामा भएको उक्त कारवाहीपछि तत्कालीन इञ्चार्ज दीनानाथ गौतमसमेत काठमाडौं आउनुभयो ।रमेशको कार्यकुशलताको प्रसंशा गर्दै दीनानाथ गौतमले साथीहरुलाई रमेश ढुंगेल ‘साहस’बाट सिक्नुपर्छ भन्नुहुन्थ्यो त्यसबेला ।
माओवादीबाट मृत्युदण्ड पाएका रमेश ढुंगेल
त्यसैताका बेथान चौकी कब्जा गरेको अभियोगमा झण्डै तीन वर्ष जेल बस्नुभएका हाम्रा जेठा दाइ कोमल ढुंगेल जेलमुक्त हुनुभयो । चरम शारीरिक यातना भोग्नुभएका दाइ उपचार पनि गर्ने र भूमिगत हुने निष्कर्षसहित रामेछापबाट काठमाडौं आउनुभयो ।
त्यसैबीच ०५६ साल भदौको पहिलो साता इञ्चार्ज दीनानाथ गौतम काठमाडौंबाट पक्राउ पर्नुभयो । त्यसबेला तत्कालीन पूर्वाञ्चल प्रमुख यानप्रसाद गौतम -आलोक) लगायतसँग रमेश ढुंगेलको वैचारिक/राजनीतिकलगायत अन्तरविरोध बढेको थियो ।
दीनानाथ गौतमको गिरफ्तारीलाई बाहना बनाएर आलोकहरुले हाम्रा माइला दाइ रमेश ढुंगेललाई ‘मृत्युदण्ड’ दिने योजनाका रुपमा पार्टीभित्रैबाट षड्यन्त्र गरेछन् । पार्टी र संगठनको काममा क्रियाशील रमेश ढुंगेलले आलोक लगायत षड्यन्त्रकारी टोलीको गम्भीर षड्यन्त्रको आभास पाउने कुरै भएन ।
पूर्वाञ्चल ब्युरो प्रमुख भएकाले पार्टीमा आलोकको पकड हुने नै भयो । उनैले त्यस घटनालाई आधार बनाएर रमेश ढुंगेलको हत्या गर्ने योजना बनाएछन् । कार्यक्षेत्रमा जाने भनेपछि दाइ नजाने कुरै भएन । तर, षड्यन्त्रकारीहरुले षड्यन्त्रपूर्वक आफ्नै सहयोद्धा, नेता साथीको डाका शैलीमा हत्या गरे ।
उनीहरुले हामी परिवारजनलाई रमेश कार्यक्षेत्रमा गएको भन्दै आएका थिए । एकाथरिले प्रहरीले पक्राउ गर्यो भनेर पार्टीको त्यसबेलाको मुखपत्र जनादेशमा समाचार प्रकाशित गराए । हामीलाई त्यसबेला रमेश दाइ पक्राउ परेको, कार्यक्षेत्रमा गएको वा अरु के भएको हो अत्तोपत्तो नै भएन ।
तर, त्यही वर्षको मंसिरमा पुस्कर गौतम (जो अहिले जेलमा छन्) ले माओवादी पार्टीभित्र आफ्नै कार्यकर्ताको हत्या हुन्छ भनेर रमेश ढुंगेलको हत्या पार्टीबाटै भएको सार्वजनिक गरेपछि हामी छाँगाबाट खसेजस्तै भयौं । रमेश दाइलाई माओवादीकै नेता कार्यकर्ताले मारेर कतै गाडेको भन्ने सुनियो, जसको अहिलेसम्म परिवारका सदस्यले न त कंकाल फेला पार्न सकिएको छ, न त सदगति नै ।
दीनानाथ गौतमलाई राज्यले लामो समयसम्म बेपत्ता बनायो । एकाएक दिनेश शर्मा र दीनानाथ गौतमलाई राज्यले सार्वजनिक गर्यो । र, उनीहरु त्यहीँबाट भागेर पार्टीको सम्पर्कमा पुग्नुभयो । त्यसबेलादेखि नै मेरो मनमा पक्कै पनि दीनानाथ गौतम एक दिन जेलमुक्त हुनुहुन्छ र त्यसबेला उहाँले सत्य तथ्य कुरा गर्नुहुन्छ भन्ने विश्वास थियो । नभन्दै उहाँ जेलमुक्त हुनुभयो । मैले उहाँसँग भेटेँ । उहाँले आफूलाई रमेशले गिरफ्तार गराएको कुनै आभास नभएको बताउनुभयो र रमेशलाई पार्टीबाटै मारिएकोमा दुःख प्रकट गर्नुभयो । आज पनि दीनानाथ गौतम तपाईहामी सामू हुनुहुन्छ । र, उहाँले सत्यतथ्य कुरा बताउँदै आउनुभएकै छ ।
अब त पार्टीले रमेश ढुंगेलको हत्याबारे सही निर्णय गर्ला भन्ने आशा गरें । तर, जनयुद्ध विसर्जन भएको १० वर्ष बितिसक्दासम्म रमेश ढुंगेलको किन र कुन ढंगले हत्या भयो भन्नेबारे माओवादी पार्टीले हामी परिवारका सदस्यलाई कुनै जानकारी दिएको छैन ।
प्रचण्डज्यू, तपाई जनयुद्धको नायक प्रचण्ड हो भने तपाई आज जस्तोसुकै व्यस्तताको बीचमा हुनुहुन्छ भने पनि मलाई यसको जवाफ दिनुहोस् । रमेश ढुंगेललाई पार्टीले किन मार्यो ? र, उनको शव कुन ठाउँमा गाडिएको छ ? हामीले हाम्रा दाजुको कंकाल हेर्न पाऔं र काज किरिया गर्न पाउँ । सास नभए पनि माओवादी पार्टीले हाम्रा परिवारका सदस्यको लास देखाओस् ।
न्याय माग्दा वर्षौं बिते
मैले यस घटनाको सत्यतथ्य सार्वजनिक गर्न र रमेश ढुंगेलको परिवारलाई न्याय गर्नुस् भनेर माओवादीका नेताहरुसँग धेरै वर्षौर्ंदेखि भन्दै र न्याय माग्दै आएको छु । तपाईले न त न्याय दिने आँट गर्नुभया, नत यसको जवाफ नै दिने हिम्मत गर्नुभयो । मैले सहज र सरल तरिकाले तपाईसँग यसको जवाफ माग्दा र न्याय माग्नुलाई तपाईले रमेश ढुंगेलका परिवारको कमजोरी सम्झनुभयो ।
त्यसैले आज म यो सार्वजनिक पत्रमार्फत न्याय माग्दैछु । ढिलै भए पनि यसको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनैपर्छ, रमेश ढुंगेललाई पार्टीभित्रैबाट किन मृत्युदण्ड दिइएको हो ? उनलाई मारिनु गल्ती थियो भने उनको हत्यामा संलग्न माओवादी कार्यकर्तामाथि किन अहिलेसम्म कारवाही गरिँदैन ?
कमरेड प्रचण्ड, तपाई साँच्चै विवेकशील, चेतनशील हुनुहुन्छ, तपाईमा कुनै पनि खाले मानवीय संवेदना छ । अन्याय, अत्याचारको विरुद्धमा लडेर यहाँसम्म आउनुभएको छ । त्यसैले विना हिच्किचाहट तपाईले न्यायको ढोका खोल्नु हुनेछ भन्ने हाम्रो विश्वास छ । तपाई आफैं म बस्ने घर, रमेश ढुंगेलकी पत्नी र आमालाई भेट्न आउनुहुनेछ । भन्ने हामी परिवारजनको आशा छ । र, कमसेकम रमेश ढुंगेलको अस्थिपञ्जरको खोजी गर्ने वातावरण पार्टीभित्र बनाइदिनुहुनेछ भन्ने परिवारजनको आशा छ । हाम्रा ब्ुबा त बितिसक्नुभयो, आमाले अहिलेसम्म आफ्नो माइला छोराको न सास हेर्न पाउनुभयो, न लास ।
निरंकुश राजतन्त्रको विरुद्ध र नयाँ जनवादी क्रान्तिमार्फत जनताको न्याय र समानताको निम्ति तपाईकै नेतृत्वमा सुरु भएको जनयुद्धको पहलकर्ता तपाईकै एउटा सहकर्मी रमेश ढुंगेल तपाईकै अर्को सहकर्मीबाट डाका शैलीमा हत्या हुँदा तपाईले सत्य र न्याय के हो भन्ने बुझ्न नसक्नु साँच्चै नै विडम्बना हो ।
कमरेड प्रचण्ड, तपाईलाई कत्तिको याद छ ? तपाई आज जुन कुर्सीमा विराजमान हुनुहुन्छ । त्यो हैसियतमा पुर्याउन महत्वपूर्ण योगदान बोकेको जनयुद्धकै पहिलो सफल फौजी मोर्चा बेथानको जिउँदो सहिद हो-रमेश ढुंगेल । त्यो मोर्चा रमेश ढुंगेललगायत रामेछापका सीमित व्यक्तिहरुको पहलमा सम्पन्न भएको हो । जहाँ तीर्थ, फत्त र दिलमायाले जीवन बलिदान गर्नुभयो । त्यही मोर्चामा रमेश ढुंगेल सख्त घाइते भएर जीवन मरणको दोसाँधमा पुग्नुभयो । तर, उनै रमेशको पार्टीभित्रैबाट जुन ढंगले हत्या भयो, त्यसबारे पार्टीले बोल्नुपर्दैन ? यसमा पार्टीले कुनै जवाफदेहिता लिनुपर्दैन कामरेड ?
कमरेड प्रचण्ड, म तपाईसँग सार्वजनिकरुपमा पहिलोपटक यत्ति मात्रै भन्न चाहन्छु कि तत्कालीन माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा ‘आलोक प्रवृत्ति’ बारे बहस गर्दै रमेश ढुंगेलको हत्या आलोकको निर्देशनमा अपराधै सावित नगरीकन, हतार हतारमा युद्ध सरदार शैलीमा गलत ढंगले भयो भन्दै तपाईहरुले दस्तावेजमै स्वीकार गरिसक्नुभएको छ । त्यो सकारात्मक कुरा हो । तर, हामीले त्यसपछि न्याय पाउने अपेक्षा गरेका थियौं । अहिलेसम्म पाइएन । तपाईहरुले दाजुको किरिया गर्ने वातावरणसम्म बनाइदिनुभएन अहिलेसम्म । दाइको शव कहाँ गाडिएको छ ? पार्टीले अहिलेसम्म हामीलाई भनेन ।
कमरेड प्रचण्ड, अब म धेरै लामो र गन्थन लेख्ने पक्षमा छैन । तपाईसँग सीधासीधा यतिमात्रै भन्न चाहन्छु- मृत्युपश्चात् सबैले आ-आफ्नो संस्कृति र रीतिरिवाज अनुसार मृत्यु संस्कार गर्ने चलन छ । दाइ रमेशको मृत्यु संस्कार गर्नु हाम्रो पहिलो कर्तव्य हो, जहाँ रमेशकी ८० वर्ष नाघ्दै गरेकी बुढीआमा हुनुहुन्छ । उहाँलाई पार्टीले यसको जवाफ दिनुपर्दैन ?
घटनामा कोको माओवादी नेताहरु दोषी हुन् ? उहाँको कहाँ हत्या भयो ? के कसरी र कहाँ डम्पिङ गरियो ? यस विषयमा जानकार व्यक्तिहरु अझै पनि जिवितै छन् । तपाई र तपाईकै नेतृत्वमा यस विषयको छिनोफानो तत्काल होस् । र, कमसेकम रमेश ढुंगेलको अस्थिपञ्जर तत्काल परिवारलाई बुझाइयोस् ।
(विदुर ढुंगेल स्व.रमेश ढुंगेलका भाइ हुन्)