बुधबार, बैशाख १९, २०८१

इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध तत्काल अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई टेलिफोन गरि तत्काल हिंसा अन्त्यका लागि आव्हान गरेका हुन् ।

संवादको क्रममा बाइडेनले नेतन्याहूलाई हमास वा अरु कुनै पनि आतंककारी समूहबाट हुने आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्ने इजरायली अधिकारको पक्षमा आफ्नो समर्थन रहेको बताएका छन् । उनले दुवै तर्फ भएका मृत्युलाई लिएर चासो व्यक्त गरेका छन् । बाइडेनले पत्रकारको सुरक्षालाई लिएर पनि कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ ।

बाइडेनले दुवै देशका नेतासँग हिंसाको विकल्पको खोजीमा प्रतिवद्ध रहेको पनि बताए । अमेरिकी दूत हादी आम्र वार्ताको प्रयासका लागि शनिबार नै तेल अविव पुगेका छन् । उनले इजरायल, प्यालेस्टाइन तथा संयुक्त राष्ट्रसंघका अधिकारीसँग छलफल गरिरहेका छन् ।

इजरेल र प्यालेस्टाईनबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा सोमबारदेखि यद्ध जारी छ । इजरायल र प्यालेस्टाइनबिच हाल भइरहेको हिंसालाई पछिल्लो केही वर्ष यताकै गम्भीर भिडन्तका रुपमा लिइएको छ ।

गएको सोमबार यता गाजामा कम्तीमा १४९ तथा इजरायलमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० जना भन्दा बढी बालबालिका रहेका छन् । यस्तै, उक्त घटनामा परी ९५० जना घाईते भएका छन् । सन् २०१४ यता दुई पक्षबिच पहिलोपटक युद्धको अवस्था आएको हो ।