शुक्रबार, बैशाख १४, २०८१

जापान सरकारले कोभिड १९ बिरुद्धको भ्याक्सिन दैनिक १० लाखलाई लगाउने लक्ष्य

टोकियो । जापान सरकारले आफ्नो कोभिड-१९ भाइरस बिरुद्ध भ्याक्सिन लगाउने काम प्रति दिन १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । जुन वर्तमान गति भन्दा तीन गुणा बढाईने प्रधानमन्त्री योशीहिदे सुगाले बताएका छन् ।

त्यो गतिमा १६ बर्ष भन्दा माथिका देशका प्रत्येक व्यक्तिलाई लगभग सात महिनामा कोरोना भाइरसको दुवै मात्रा लगाईसक्ने लक्ष्य रहेको छ ।

टोकियो र अन्य क्षेत्रहरुमा आपतकालको अवस्था विस्तार गर्ने निर्णय घोषणा गरेपछि पत्रकार सम्मेलनमा बोल्दै सुगाले केही नगरपालिकाले अर्को महिना मधुमेह जस्ता अन्तर्निहित अवस्थाहरू भएका व्यक्तिलाई खोप दिन सुरु गर्ने अपेक्षा गरेका छन् ।

सरकारी तथ्यांकका अनुसार जापानमा कम्तिमा ३० लाख भन्दा बढी मानिसहरूले एक मात्रा कोरोना भाइरस बिरुद्धको खोप लगाइसकेका छन् । जुन कुल जनसंख्याको २ प्रतिशत जति हो । केवल स्वास्थ्य सेवा कर्मीहरू र ६५ बर्ष उमेर वा सो भन्दा माथिका व्यक्तिहरू मात्र हाल कोरोना भाइरस बिरुद्धको खोप लगाउन योग्य रहेका छन् ।

प्रधानमन्त्री सुगाले भने कि जापानले मोडेर्ना ईंक र नोभाभ्याक्स ईंकसँग आगामी बर्ष कोरोना भाइरस बिरुद्धको खोपको करिब २० करोड डोज आपूर्ती गरिसक्ने समझदारी गरेको छ ।

सरकारले सेप्टेम्बरको अन्त्यसम्ममा मोडेर्नाको ५ करोड डोज खोप आपूर्ती गर्न सम्झौता गरिसकेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आगामी साता यो खोप स्वीकृत गर्ने ठानिएको छ । फाइजर ईंकको खोपसँगै यो खोपपनि देशभर लगाउन सुरु गर्ने तयारी सरकारको छ ।

कोरोना महामारीको बावजुद ओलम्पिक खेलहरू सञ्चालन गर्ने बारे जनतामा रहेको चिन्तालाई सम्बोधन गर्दै सुगाले ओलम्पिक कमिटिले ‘भरपर्दो र सुरक्षित’ सुनिश्चित गर्न कडा कदम चाल्ने आफ्नो वाचा दोहोर्‍याएका छन् ।