बिहिबार, बैशाख ०६, २०८१

भारतमा एकैदिन ४ लाख १२ हजारमा कोरोना संक्रमण,करिब ४ हजारको मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।योसँगै भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

यस्तै, भारतमा एकैदिन ३ हजार ९ सय ८२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । हालसम्म भारतमा मृतक संख्या २ लाख ३० हजार १५१ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ रहेको छ ।