शुक्रबार, बैशाख ०७, २०८१

बालबालिका र वयस्कलाई कोभिड खोप विस्तार गर्ने अमेरिकाको तयारी

अमेरिकी राष्ट्रपति जो बाइडनले जुलाई चारको स्वतन्त्रता दिवस अघि कम्तीमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले कोभिड–१९ विरुद्धको पहिलो खोप लिइसकेको आफूले हेर्न चाहेको बताएका छन् । अमेरिकाको वयस्क जनसङ्ख्याको ५६ प्रतिशत भन्दा बढीले खोपको पहिलो मात्रा लिएका छन् भने एक तिहाइ पूर्ण रूपमा सुरक्षित भएको भनिएको छ ।

तर पछिल्लो दिनमा खोप लगाउनेको सङ्ख्या घटेको भए पनि लक्ष्य पुरा हुने दिशामै रहेको उनले बताए । बाइडन प्रशासनले नियामक निकायहरूले अनुमति दिएको अवस्थामा १२ देखि १५ वर्षबिचका बालबालिकालाई खोप उपलब्ध गराउने हजारौँ केन्द्रहरू तयार अवस्थामा रहेको जनाएको छ ।

अहिले अमेरिकामा १० करोड ५० लाख मानिसले खोप लगाइसकेका छन् र दैनिक झन्डै १० लाख मानिसलाई खोप दिने गरिएको छ । तर खोप लगाउने दर तीन हप्ता अघिको भन्दा आधाले घटेको छ । बाइडनले आफ्नो प्रशासनले खोप लगाउने विषयलाई लिएर आशङ्का व्यक्त गरिरहेका व्यक्तिहरूलाई आकर्षित गर्न प्रयास गरिरहेको जनाएको छ ।

खोप प्रवाहको दरमा विश्वमै नेतृत्वदायी अवस्थामा रहेको इजरेलले लगभग पूर्ण रूपमा आफ्नो अर्थतन्त्र खुला गरेको छ । इजरायलमा ६० प्रतिशत भन्दा केही बढी जनसङ्ख्याले कम्तीमा एउटा खोपको मात्रा लगाएका छन् र त्यहाँ नयाँ सङ्क्रमणका घटना लगभग शून्य रहेको छ । सोमबार ह्वाइट हाउसमा बोल्दै बाइडनले दुई महिनापछि स्वतन्त्रता दिवस मनाउँदा अमेरिका भाइरसबाट पनि स्वतन्त्र हुने गरी अघि बढ्न सकिने धारणा राखे ।

उनले खोप सम्बन्धी नयाँ वेबसाइट पनि सञ्चालनमा ल्याएका छन् जहाँ अमेरिकीहरूले सहजै आफूलाई पायक पर्ने खोप केन्द्रमा नाम टिपाउन सक्छन् । यसअघि जुलाई चारसम्ममा जनजीवन सामान्य अवस्थामा फर्काउने बाइडनको लक्ष्य थियो ।

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर खोप १२ वर्ष उमेर पुगेका बालबालिकालाई उपलब्ध गराउन सकिने सम्भावनाबारे विचार गरिरहेको छ । अमेरिकामा फाइजरको खोप १६ वर्ष माथिका व्यक्तिलाई दिन मिल्छ ।

बाइडनले आफूले एफडीएको प्रक्रियामा हस्तक्षेप नगर्ने तर कुनै निर्णय आए तत्कालै खोप कार्यक्रम अघि बढाउन तयार अवस्थामा रहेको बताए । उनले किशोर किशोरीलाई खोप दिन १५ हजार फार्मेसी तयार अवस्थामा राखिने बताए ।

नियामक निकायहरूले अनुमति दिएको अवस्थामा १२ देखि १५ वर्षको उमेर समूहका १ करोड ७० लाख अमेरिकीहरूलाई तत्कालै खोप उपलब्ध गराइनेछ । राष्ट्रपतिका प्रमुख स्वास्थ्य सल्लाहकारले जनजीवन सामान्य अवस्थामा फर्काउन सम्भवतः बालबालिकालाई पनि खोप लगाउनुपर्ने धारणा राखेका छन् ।

अमेरिकामा ७५ प्रतिशत भन्दा बढी ज्येष्ठ नागरिकहरूले खोप लगाइसक्दा सङ्क्रमणको दर खोप नलगाएका बालबालिकामा बढी देखिएको छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले सोमबार सार्वजनिक गरेको अनुसन्धान अनुसार उमेर समूह अनुसार सङ्क्रमणका घटनाको गणना गर्ने राज्यहरूमा बालबालिकामा कूल मध्ये लगभग २२ दशमलव ४ प्रतिशत सङ्क्रमणका घटना देखिएका छन् ।

राष्ट्रपति बाइडनले खोप लगाएका व्यक्तिलाई बजारमा छुट दिने सहितका विषयमा व्यापारिक समुदायसँग छलफल गरिरहेको जनाएका छन्। बाइडनका अनुसार मुख्य खेल आयोजकहरूलाई आफ्ना समर्थकहरूलाई लक्षित गरी विशेष कार्यक्रमहरू ल्याउन प्रोत्साहन गरिएको छ भने रङ्गशालामा खोप लगाउने, कतिपय उत्पादनमा छुट दिने र टिकट उपलब्ध गराउने जस्ता रचनात्मक विकल्प पनि सोचिएको छ । खोप प्रति आशङ्का व्यक्त गरिरहेका अमेरिकीहरूलाई बाइडनले समुदायको लागि भए पनि खोप लगाउन अनुरोध गरेका छन् ।

हर्ड इम्युनिटीका (सामुदायिक प्रतिरोध क्षमता) लागि आवश्यक न्यूनतम थ्रेसहोल्ड अर्थात् जनसङ्ख्या कति हो भन्ने प्रस्ट छैन । सुरुमा अमेरिकी राष्ट्रपति जो बाइडनले नेतृत्व गरेको प्रशासनका चिकित्सा सल्लाहकार र ख्यातिप्राप्त महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले लगभग ७० प्रतिशत भने पनि त्यसलाई बढाएर ९० प्रतिशत भनिएको थियो ।

अघिल्लो महिना उनले हर्ड इम्युनिटि अर्थात् ठुलो जनसङ्ख्यामा रोग प्रतिरोधी क्षमता विकास गर्न सकिने अवधारणा बुझ्न कठिन भएको बताए । विश्व स्वास्थ्य सङ्गठनले पनि त्यस्तो प्रतिरोधी क्षमता हासिल गर्न चाहिने जनसङ्ख्याको अनुपातबारे जानकारी नभएको बताउने गरेको छ।