शुक्रबार, बैशाख १४, २०८१

भारतमा एकैदिन ३६ सय संक्रमितको मृत्यु, ३ लाख ७९ हजारमा संक्रमण

भारत । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणबाट एकैदिन तीन हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४७ जनाको मृत्यु भएसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख चार हजार आठ सय १२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ७९ हजार चार सय ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या एक करोड ८३ लाख ६८ हजार भन्दा बढी पुगेको छ । संक्रमितमध्ये एक करोड ५० लाख ७८ हजार भन्दाबढी संक्रमणमुक्त भइसकेका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख ८५ हजार बढी छ ।

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो आठौं दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५५ लाख भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । यस्तै, भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ ।