इटलीको एउटा टापुमा २० वर्षभन्दा बढी समयदेखि एक्लै बस्दै आएका एक व्यक्तिले सम्बन्धित निकायको दबावका कारण आफू बसाइँ सर्न लागेको बताएका छन् । हाल ८१ वर्षका माउरो मोरान्डी सन् १९८९ मा उत्तरी सार्डिनियानजिकैको बुडेलीमा बस्न गएका थिए । गत वर्ष मोरान्डीले गुलाबी रङ्गका समुद्र किनारका लागि चर्चित टापुका मालिकहरूले आफूलाई बसाइँ सर्न भनेको बताएका थिए।
‘मैले जसरी ३२ वर्ष बुडेलीको रक्षा गरेँ त्यसैगरी भविष्यमा यसको संरक्षण हुने आशा गर्दै म टापु छोड्दैछु,’ उनले फेसबुकमा लेखेका छन् । सन् २०१८ मा बीबीसीसँग कुरा यी गर्दै यी पूर्वशिक्षकले आफू सधैँ विद्रोही खालको रहेको बताएका थिए । ‘हाम्रो समाजको धेरै कुराबाट म वाक्क थिएँः उपभोगवाद र इटलीको राजनीतिक अवस्था,’ उनले भनेका थिए। ‘मैले मानववस्तीबाट टाढा खाली रहेको पोलिनेशिया टापुमा बसाइँ सर्ने निर्णय गरेँ। म प्रकृतिको नजिक नयाँ जीवन सुरु गर्न चाहन्थेँ।’
तर उनी र उनका केही साथीहरू समुद्री यात्रा गर्दै इटलीको ला माडालेना आइपुगे र त्यहाँ बाँकी यात्राका लागि खर्च जुटाउन काम गर्ने निधो गरे । बुडेली पुगेपछि र सेवानिवृत्त हुन लागेका उक्त टापुका संरक्षकसँग भेट भएपछि मोरान्डीले त्यहीँ बस्ने निधो गरे। त्यसयता उनी सोही टापुको हेरचाह एवं पर्यटकसँग कुराकानी गर्दै आएका थिए ।
तर यसबीचमा उनलाई टापु छोड्न धेरै दबाव पर्यो । सन् २०२० मा ला माडालेनाको राष्ट्रिय निकुञ्जका प्रमुखले सीएनएनलाई मोरान्डीले टापुमा आफू बस्ने दोस्रो विश्वयुद्धकालीन रेडिओ स्टेशनको छाप्रोमा गैरकानुनी परिवर्तन गरेको बताएका थिए । इटली सरकारलाई उनलाई त्यहाँ रहन अनुमति दिन माग गर्दै गरिएको एउटा अभियानमा ७० हजार जनाभन्दा बढीले हस्ताक्षर गरेका थिए ।
तर आइतवार उनले बसाइँ सर्ने निर्णय गरेपछि द गार्जियन पत्रिकालाई भनेः ‘म नजिकैको टापुको एउटा सानो घरमा बस्नेछु। मेरो जीवन खासै परिवर्तन हुँदैन, म समुद्र देख्ने नै छु।’