पाकिस्तानी सहर क्वेटास्थिति एउटा होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन् । सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको छ । उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ ।
तर विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन् । पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् ।
विस्फोटपछिको स्थिति दर्शाउने भिडियो फुटेज सामाजिक सञ्जालहरूमा राखिएका छन् जसमा होटलको कार पार्कमा आगोको मुस्लो फैलिएको देखिन्छ । सेरेना क्वेटाको प्रख्यात होटल हो। जुन सरकारी अधिकारी र भ्रमणमा रहेका उच्चस्तरीय पाहुनाहरूको रोजाइमा पर्छ ।
गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको एउटा कार होटलमा विस्फोटन भएको पाकिस्तानी प्रसारक एआरवाई न्यूज टिभीलाई बताए । उनका अनुसार चिनियाँ राजदूत नोन रङ घटनाका बेला एउटा कार्यक्रममा थिए, होटलमा थिएनन् ।
बलुचिस्तान प्रान्तका गृहमन्त्री जियाउल्ला लङ्गोले राजदूत नङ उच्च मनोबलमा रहेको र क्वेटाको आफ्नो भ्रमण बिहीबार सम्पन्न गर्ने संवाददाताहरूलाई बताएका छन् । बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकुहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । र, त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन्।