बुधबार, बैशाख १२, २०८१

आणविक फोहोर पानी समुद्रमा नछोड्न जापानलाई चीनको आग्रह

चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा सम्वेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, “जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ, यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् ।

चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको प्रसङ्गमा छलफल भएको प्रवक्ता चाउल बताउनुभयो ।

दुबै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एकपक्षीय’ निर्णयको बारेमा छलफल गरेको चिनियाँ अधिकारीले बताएका छन् ।

“चीनका साथै दक्षिण कोरियाले पनि जापानलाई अन्तर्राष्ट्रिय निकाय र छिमेकी देशहरूसँगको पूर्ण परामर्श, सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संघसंस्थाहरूको पर्याप्त सहभागितामा आधारित फुकुशिमा आणविक केन्द्रको फोहोर पानीको मुद्दालाई विवेकपूर्ण तरीकाले अघि बढाउन आग्रह गर्दछन्, यो चीन र दक्षिण कोरियाको साझा स्थिति हो,” प्रवक्ता चाउले भन्नुभयोे ।

प्रवक्ता चाउले जापानको आणविक फोहोर पानी सुरक्षित छ भन्ने दावी मात्र एकपक्षीय डाटामा निर्भर रहेको र यस अनुसन्धानमा अन्तर्राष्ट्रिय वातावरणमामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय संघसंस्था र छिमेकीहरूको विश्वास लिन आवश्यक रहेको उहाँले बताउनुभयो ।