जापानमा दैनिक कोरोना बिरामीको संख्या दुई गुणाले बृद्धि

टोकियो । दुई सातामै जापानमा दैनिक कोरोना भाइरसका बिरामीको संख्या दुई गुणाले बृद्धि भएको छ । मार्च अन्त्य आसपास दैनिक करिव १५ सय रहेको कोरोना भाइरस संक्रमितको संख्या जापानमा ४ हजारबाट उकालो लागेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार अप्रिल १४ तारिख जापानमा ४३ सय १२ जनामा कोभिड-१९ परीक्षण सकारात्मक पाइएको छ । यहि अवधिमा कोरोना भाइरस संक्रमणबाट ३४ जनाले ज्यान गुमाएका छन् । जापानमा गत जनवरी २८ तारिखपछि दैनिक संक्रमितको संख्या ४००० पार गरेको बुधवार पहिलो पटक हो । यो सहित जापानमा कुल संक्रमितको संख्या ५ लाख १७ हजार ७ सय २३ पुगेको छ । संक्रमणबाट ९५ सय २४ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ । बुधवार उच्च संक्रमण पाइएकोमा ओसाका प्रिफेक्चर ११ सय ३०, टोकियो ५ सय ९१, ह्योगो ५०७, आईची २१६, खानागावा २०६, फुकुओका १५६, ओकिनावा १३७, क्योतो १२५ रहेको छ । तीन साता यता देशभर बढेको दैनिक संक्रमितको संख्यासँगै गम्भिर अवस्थामा पुगेका बिरामीको संख्यामा उच्च बृद्धि जारी छ । हाल देशभरका अस्पतालमा उपचाररत ६०८ जना कोरोना संक्रमित गम्भिर अवस्थामा रहेका छन् । संक्रमित संख्यामा ४ लाख ७१ हजार ६ सय ६६ जना भने निको भएर डिस्चार्ज भइसकेका छन् । पछिल्लो पटक अप्रिल १२ तारिखमा जापानभर गरेर ५०,४१८ जनाको पीसीआर परीक्षण भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: