शुक्रबार, बैशाख ०७, २०८१

हामी लकडाउनमा जाने मनस्थितिमा छैनौंः स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा ‘नेपाल हेल्थ कनक्लेभ २०२१’लाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले नेपाल पुनः लकडाउनमा नजाने बताएका हुन् । उनले लकडाउन भन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए ।

लकडाउनले कोरोना नियन्त्रण गर्न कम हुने भएपनि त्यसले अर्थतन्त्रलाई दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताएका हुन् । उनले भारतमा कोरोनाको नयाँ भेरियन्ट आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको जानकारी दिए । उनले सबै जनतालाई खोप लगाउनेतर्फ ध्यान केन्द्रित गरेको बताए ।

उनले उत्पादन भन्दा माग बढी भएकाले खोप ल्याउन समस्या भने भएको बताए । उनले विश्वमा अहिले १३ वटा खोप प्रचलनमा आइसकेका र नेपालमा तीन किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको बताए ।

उनले चीन सरकारबाट अनुदानमा प्राप्त खोप बुधबारदेखि लगाउन शुरु हुने जानकारी दिए । स्वास्थ्यमन्त्री त्रिपाठीले आतंकित नभई सावधानी अपनाउनुपर्ने बताए । उनले पत्रकारलाई आफैं अनुमानका भरमा समाचार सम्प्रेषण गरेर जनतालाई आतंकित पार्ने काम नगर्न आग्रह गरे । उनले सुरुमा नेपालमा एउटा पनि प्रयोगशाला नभएकोमा अहिले ८४ वटा प्रयोगशाला भएकाले सरकार महामारी नियन्त्रणका लागि तयार रहेको बताए ।