कोरोना सङ्क्रमण नियन्त्रणका लागि महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु

कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिँदै छ । रातिको समयमा कर्फ्यु लगाइने छ भने सप्ताहान्तका बेला राज्यमा पूर्ण रूपमा लकडाउन लागु हुनेछ ।

भारतमा आइतवार एकैदिन ९३ हजार २४९ सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो । उक्त सङ्ख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन् । कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाख भन्दा बढी छ । शुक्रवारको टेलिभिजन सम्बोधनका क्रममा महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले केही मानिसहरूले सुरक्षाका उपायहरू नअपनाएको र मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही सङ्क्रमित भएको बताएका थिए ।

मुम्बईबाट करिब १६० किलोमिटर पूर्वमा रहेको पुणे सहरमा कर्फ्यु लागु गरिसकिएको छ । त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएको छ ।

सोमबारबाट महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ । सप्ताहान्तमा शुक्रवार राती आठ बजेदेखि पूर्ण रूपमा लकडाउन लागु हुने छ जुन सोमवार बिहान सात बजेसम्म कायम रहने छ । त्यो अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने छ । तर सार्वजनिक सवारी साधनहरू भने चल्ने छन् ।

पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर–घरमा खाना पु¥याउने कार्य भने जारी राख्न पाउनेछन् । सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ । सकेसम्म घरबाटै काम गराउन भनिएको छ। यी प्रावधान अप्रिल ३० तारिखसम्म लागु हुने सरकारले जनाएको छ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: