शनिबार, बैशाख ०८, २०८१

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ लाख ४ हजार ३४६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ५ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ करोड ८२ लाख ३९ हजार १४९ पुगेको छ । हालसम्म विश्वमा १० करोड ३४ लाख ४६ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ५५ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये २ करोड १९ लाख ८८ हजार २६१ जना सक्रिय संक्रिमत रहेका छन् भने ९४ हजार ७८३ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ६३ हजार २०६ जनाको मृत्यु भएको छ भने ३ करोड १० लाख ३३ हजार भन्दा बढी संक्रमित भएका छन् । यसैगरी ब्राजिलमा ३ लाख १४ हजार २६८ जना, भारतमा १ लाख ६२ हजार १४७ जना र रूसमा ९८ हजार ३३ जनाको मृत्यु भएको छ ।