शुक्रबार, असार ०५, २०८३

कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने बाइडनको लक्ष्य

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसको खोप आफ्नो प्रशासनको पहिलो सय दिनमा २० करोड मानिसलाई लगाउने बाचा गरेका छन् । ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए ।

बाइडनले भने, ‘आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौँ।’ उनले भने, ‘मलाई थाहा छ यो लक्ष्य महत्वाकांक्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो। तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन्। र, मलाई विश्वास छ कि हामी यो बाचा पनि पूरा गर्नसक्छौं।’

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् । यसबारेमा थुप्रै मानिसहरू सामाजिक सञ्जालमा आफ्ना धारणा राखिरहेका छन् । हफिङ्टन पोष्टकी वासिङटन ब्यूरो प्रमुख अमान्डा तर्केलले लेखेकी छन्, ‘आश्चर्य लाग्ने कुरा कोरोनाभाइरसबारे कसैले पनि एउटा प्रश्न गरेनन्।’