काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्दै गएपछि र निक्षेप संकलनमा कमी आएपछि तरलता संकुचनको स्थिति देखा परेको छ ।
यसरी तरलता संकुचन हुनुको पछाडि बैंक तथा वित्तीय संस्थाहरुले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गरेको कारण देखिएको छ । यसरी तरलता संकुचन बढ्दा त्यसले वित्तीय क्षेत्रमै विकराल रुप लिनेसमेत देखिएको छ । विश्लेषकहरुले त पछिल्लो समय उत्पन्न तरलता संकुचनले २०५७ सालतिर देखिएको मन्दीकै रुप लिने आशंकासमेत गर्न थालेका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग नपत्याउँदो गरी बढेको छ भने निक्षेप संकलनमा पूरै कमी आएको छ । यही कारण तरलता संकुचनको अवस्था झनै चोटिलो बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले नेपाल राष्ट्र बैंकलाई तरलता संकुचनबाट पार लगाउन बारम्बार अनुरोध गर्दै आए पनि ढोकैमा उभिएको वित्तीय संकटलाई पन्छाउन अहिलेसम्म कुनै प्रभावकारी कदम उठाइएको पाइँदैन ।
तर, राष्ट्र बैंकले भने तरलता संकुचन उत्पन्न हुनुमा बैंक तथा वित्तीय संस्थाहरुले अनुत्पादक क्षेत्रमा अन्धाधुन्ध रुपले गरेको लगानीलाई नै प्रमुख कारण ठह¥याउँदै आएको छ । त्यसमा एउटा कारणमध्ये अत्यधिक मात्रामा सवारी साधनहरुको आयात रहेको बताइन्छ । पछिल्लो ५ महिनाको अवधिमा ४५ अर्ब रुपियाँ बराबरको सवारी साधन भित्रिएका छन् । करिब २६ अर्ब रुपियाँ त बैंक तथा वित्तीय संस्थाहरुले हायरपर्चेज शीर्षकमा लगानी गरेका छन् ।
ठूलो अनुपातमा देशमा सवारी साधन भित्रिँदा तत्काल राजश्व बढेर फाइदै हुने भए पनि त्यसले अर्थतन्त्रको चक्रिय प्रणालीलाई भने असर पार्ने बताइन्छ । सवारी साधनको आयातसँगै पेट्रोलियम पदार्थको आयात पनि स्वतः बढ्न पुग्छ र त्यसले अर्बौं रकम विदेसिने अवस्था सिर्जना हुन्छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई दीर्घकालीन रुपमै असर पार्ने देखिएको छ ।
अहिले तरलता संकुचन उत्पन्न हुनुमा घरजग्गा कारोबारमा अत्यधिक कर्जा प्रवाह हुनु पनि अर्को कारण मानिएको छ । विगतमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाहरु धरासायी हुने अवस्थामा पुगेका हुँदा त्यसैलाई आधार बनाएर वित्तीय संस्थाहरुले सो शीर्षकमा कर्जा प्रवाह गर्न हिच्किचाउँदै आइरहेका छन् ।
तर, सिधै घरजग्गा क्षेत्रमा कर्जा प्रवाह नभए पनि बिना प्रयोजनको ऋण (ओडी) र व्यापारिक तथा अन्य शीर्षकका कर्जाबाट घरजग्गामा लगानी भएको अनुमान गरिएको छ । राष्ट्र बैंकको सूत्रका अनुसार, पछिल्लो ५ महिनाको अवधिमा ओडीमा मात्रै ८६ अर्ब कर्जा प्रवाह भएको छ । कतिपय व्यक्ति वा संस्थाहरुले ओडी वा अरु शीर्षकमा ऋण लिएर घरजग्गामा लगानी गरेको हुनसक्ने बताइन्छ ।
अहिले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका चितवन, पोखरालगायत मुख्य–मुख्य सहरहरुमा घरजग्गाको कारोबार निकै नै बढेको छ र मूल्यवृद्धि पनि चार गुनाले बढी हुन पुगेको छ । यसरी घरजग्गाको कारोबार वृद्धि हुनुमा त्यसमा बैंक तथा वित्तीय संस्थाहरुले घुमाउरो रुपले लगानी गरेको अनुमान लगाइएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले चालु पुँजीलाई हायरपर्चेज र ओडीमा समेत लगानी गर्न थालेपछि पनि तरलता संकुचन देखिएको बताइन्छ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले तरलता संकुचन रोक्न राष्ट्र बैंकसँग हारगुहार गरे पनि अनुत्पादक क्षेत्रमा अन्धाधुन्ध रुपमा गरिएको लगानीकै काण अहिलेको संकट उत्पन्न भएको अनुमान लगाइएको छ ।