बिहिबार, बैशाख ०६, २०८१

नेपालमा आउँदो जेठ महिनाबाट अवैध मोबाइल नचल्ने

काठमाडौं । नेपालमा आउँदो जेठ महिनाबाट अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजितका कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस जडान प्रक्रियाको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् ।

तपाईंको मोबाइल दर्ता छ ? छैन भने अनलाइनबाटै यसरी गर्नुस्
उनले एमडीएमएस जडान, इन्स्टलेसन र स्थापनाको कार्य अगाडि बढिसकेको र अबको जेठबाट नेपालमा अवैध रुपमा भित्रिने मोबाइल नचल्ने बताए । प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन विगत साढे चार वर्षदेखी इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

पहिलो चरणमा मोबाइलको आईएमईआई दर्तालाई प्राथामिकता दिएको प्राधिकरणले अब दर्ता नभएको मोबाइल बन्द गर्ने कार्य केही महिनामै सुरु गर्ने भएको हो ।